नेपालको ताजमहल तानसेन नगरपालिकालाई हस्तान्तरण

पाल्पा । नेपालको ताजमहलले परिचित ऐतिहासिक एवं पुरातात्विक प्रेमको प्रतिक रानीमहल दरवार तानसेन नगरपालिकालाई हस्तानतरण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको एक कार्यक्रम विच पुरातत्व विभागले १० बर्षको लागि प्रेमको प्रतिक रानीमहल तानसेन नगरपालिकालाई हस्तानतरण गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकोको उपस्थितीमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले रानीमहल हस्तान्तरण पत्रमा हस्ताक्षर गरेका छन् । पुरात्व विभागले आगामी वि.स. २०८५ साल साउन १० गते सम्म रानीमहलको संरक्षण व्यवस्थापन र सञ्चालनको जिम्मेवारी तानसेन नगरपालिकामा दिएको छ । गत जेठ महिनामा पाल्पा भ्रमणको क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारीले रानीमहल तानसेन नगरपालिकालाई हस्तानतरण गर्ने घोषणा गरेका थिए ।
पुरातत्व विभागबाट पहिलो अभ्यासको रुपमा प्रेमको प्रतिक रानीमहल स्थानीय सरकारलाई हस्तानतरण गरिएको हो । यो अभ्यासको परिणाम राम्रो भएमा मन्त्रालयले अन्य स्थानका मठ मन्दिर लगायतका पुरातात्विक महत्वका संरचनाहरु पनि स्थानीय सरकारलाई हस्तान्तरण गर्दै जाने पर्यटन मन्त्री अधिकारीले बताए । पशुपति, जानकी, मुक्तिनाथ र लुम्विनी बाहेक सबै क्षेत्रमा मठ मन्दिर, पुरातात्विक संरचनाहरु स्थानीय सरकारलाई हस्तान्तरण गरिने मन्त्री अधिकारीले बताए ।
हस्तान्तरण कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले प्रेमको प्रतिक रानीमहल दरवारलाई प्रदेश ५ कै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताए । रानीमहल दरवारलाई प्रेमको प्रतिक रुपमा संसारमा चिनाईने छ । रानीमहल क्षेत्रको ऐतिहासिकता, धार्मिक पक्षको बारेमा संसारभर जानकारी गराईने छ । नेपाल आउने पर्यटकहरुलाई एकपटक भएपनि प्रेमको प्रतिक रानीमहल पुग्नै पर्ने गरी पर्यटकीय केन्द्र विन्दुको रुपमा तानसेन नगरपालिकाले विकास गर्ने नगर प्रमुख शाहीले बताए ।
पर्यटकिय पुर्वाधारको रुपमा अहिले तानसेन बजार देखी नै रानीमहल दरवार सम्म जाने बाटो पिचको काम भईरहेको छ । सडक पिच भएपछि सदरमुका तानसेनबाट आधा घण्टामै रानीमहल दरवारमा पुगिने छ । पुरातत्व विभागले १ बर्ष अघि रानीमहल दरवारको जिर्णाेद्धार सहित रंग रोगन गरी सजाएको छ । प्रेमको प्रतिक रानीमहल दरवारमा पाल्पा र स्याङ्जा जिल्लाबाट आवत जावतको लागि कालीगण्डकी नदीमा डवल लेनको पक्कि पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गैडाकोट देखी चिनको नाका कोरला जोड्ने कालीगण्डकी करिडोर पनि रानीमहल दरवार भएर गएको छ । अहिले प्रेमको प्रतिक रानीमहल दरवार क्षेत्रमा दैनिक २ सय देखी ५ सय सम्म पर्यटकहरु पुग्दै आएका छन ।
प्रेमको प्रतिक रानीमहल दरवार राणा खड्ग शमशेरले रानी तेजकुमारीको सम्झ्नामा वि.स. १९५५ मा निर्माण गरेका थिए । रानीमहल दरवार सदरमुकाम तानसेनबाट १३ किलोमिटर उत्तर कालीगण्डकी किनारमा रहेको छ । सदरमुकाम तानसेन वाट सवारी साधनमा ४५ मिनेट, पैदल ३ घण्टामा रानीमहल दरवारमा पुग्न सकिन्छ ।