डा. केसीको अनसन टुटेपछि उपसभामुखमै फर्कियो काँग्रेस

काठमाडौ । चिकित्सा शिक्षा विधेयक ‘२०७५’ यसअघिको अध्यादेशमा आधारित रहि हुबहु पारित हुनुपर्ने मागसहित आन्दोलित डा. गोविन्द केसीले १५औ अनसन तोडेका छन् । पछिल्लो पटक प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको समर्थनमा मागप्रति अडान लिएका डा के.सीले सरकारसंँगको सहमतिपछि २७ दिनमा अनसन तोडेका हुन् ।
सरकार के.सीको जीवन रक्षासँगै उनले उठाएको मागप्रति केही लचिलो बनेको छ । सत्तामा छँदा माथेमा आयोगको प्रतिवेदनलाई बेवास्ता गरेको काँग्रेसले प्रतिपक्षमा पुगेपछि भने त्यो हुबहु कार्यान्वयन हुनुपर्ने माग राख्यो । र त्यही मागमा अडान लिएर प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक पटक पटक अवरोध ग¥यो ।
त्यही कारण सभामुखले संसद केही दिनका लागि स्थगित गरिदिएपछि नेपाली कांगे्रस सोही माग उठाएर सडकमा समेत उत्रियो । १५औं पटकको अनसन जुम्लामा गएर बसेका डा. केसीलाई सरकारले काठमाडौ ल्यायो र समस्या वार्ताबाटै समाधानको प्रयास ग¥यो र दुई पक्षबीचको वार्ता सफल समेत भयो ।
वार्तामा दुई पक्षबीच नौ बुँदै सहमति भयो र त्यो सहमतिपछि के सीले अनसन छोडेका हुन् । केसीको अनसन टुटेपछि उनको मागलाई देखाएर आफ्नो दुनो सोझाउन खोज्नेहरुलाई समस्या भएको छ । अनसन रोकिएपछि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको आन्दोलन तुहिएको छ । यसैगरी के.सीलाई विगतदेखि नै उचाल्दै आएको विवेकशील साझाको माइतीघर मण्डलामा गर्ने जुलुशको खेलो हराएको छ ।
नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै संसद अवरुद्ध गर्दै आएको थियो । त्यही बेला के.सीले अनसन थालेपछि सभामुख र उपसभामुखको मागलाई च्यात्तै छोडेर यही प्रकरणमा लागेको थियो । केसीको अनसन टुटेपछि कांग्रेस फेरि सभामुख र उपसभामुख प्रकरणमै फर्केको छ । कांग्रेसले अब फेरि त्यही प्रसङ्ग उठाएर संसद अवरुद्ध गर्ने संभावना देखिएको छ ।
संविधान कार्यान्वयनका लागि १ सय १० कानुन बन्नुपर्ने हुन्छ । अहिलेसम्म त्यस मध्येका ७३ कानुन बनेका छन् । बाँकी ३७ कानुन बन्न बाँकी छ । बन्न बाँकी रहेका कानुन असोज ३ भित्रै बनाइसक्नुपर्ने संवैधानिक बाध्यता छ । त्यसका लागि अब डेढ महिना मात्र समयावधि छ । यदि काँग्रेसले यसरी संसद अवरुद्ध गर्दै जाने हो भने त्यसले कानुन निर्माणमा समेत असर पार्ने देखिन्छ ।