टेलिकममा प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस
काठमाडौं – नेपाल टेलिकममा कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि रिक्त रहेको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएकोमा डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको हो ।अब यो सिफारिसलाई मन्त्रिपरिषदमा लगिने र तीन जना मध्ये एक जनालाई छनोट गरेर प्रवनध निर्देशक नियुक्त गरिनेछ ।
टेलिकममा प्रवन्ध निर्देशक बन्न ९ जनाले आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राखेका थिए । सचिव महेन्द्रमान गुरुङ संयोजकत्वको समितिले ३ अधिकारी, पहाडी र आचार्यलाई छनोट गरेर सिफारिस गरेको सञ्चार मन्त्रालय स्रोतले बतायो ।
अधिकारी र पहाडी अहिले पनि टेलिकममा कार्यरत कर्मचारी हुन् भने आचार्य यस अघि पनि टेलिकमममा प्रवन्ध निर्देश्कका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।
प्रवन्ध निर्देशक बन्न सानउल्लाह खान, विमल आचार्य, गोकर्णप्रसाद सिटौला, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले पनि इच्छा देखाएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।