राष्ट्रियताका प्रश्नमा कसैसँग सम्झौता नगर्ने ओलीको सन्देश

काठमाडौं । नेपालले अपनाएको सदाचार नीतिले कुनै पनि राष्ट्रसंगको सम्वन्धमा आँच नआउने धारणा व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम र स्वतन्त्र देश भएकाले राष्ट्रलाई सदाचार नीति आवश्यक भएको र त्यसको पालना कूटनीतिक नियोग र आइएनजिओले गर्नैपर्ने तर्क गरेका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को ३२औं व्याचका अधिकृतहरुको दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल आफ्नो नीति र योजना बनाउन स्वतन्त्र रहेको बताएका छन् । पुर्खाले बचाएको इतिहासको सम्मान गर्नुपर्ने र अहिलेका मूल्यमान्यता पनि जोगाउनु पर्ने भन्दै प्रधानमन्त्रीले राष्ट्रियताका प्रश्नमा कसैसँग सम्झौता नगर्ने सन्देश दिएर कर्मचारीतन्त्रमार्फत अन्तर्राष्ट्रिय समुदायलाई समेत सतर्क गराएको देखिन्छ ।
सरकारले आईएनजीओहरुलाई निगरानी गर्न खोजेपछि व्यवहारमा परिपक्वता नआउँदा आलोचना हुँदै आएको छ । नेपालको संविधान बनाउने क्रममा काठमाडौंमा कार्यरत कतिपय आईएनजिओले आफैले संविधान बनाएको र ती प्रावधानहरु नेपालको संविधानमा लगाउन खोजेको पाइएको थियो । आईडीया इन्टरनेशनल जस्ता कतिपय संस्थाले गरेको त्यस्तो व्यवहारबाट नेपाली राजनीति र प्रशासनिक क्षेत्रमा समेत वाह्य हस्तक्षेप बढेको भन्दै विरोध भएको छ ।
विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउनु र काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा रहेको राजनीतिक कार्यालय हटाउने निर्णय गरेर सरकारले सदाचार नीतिमा कडाइका साथ उभिने सन्देश दिएको छ । यसरी व्यवहारमा स्पष्ट धारणा लिएर अघि बढ्ने हो भने राष्ट्रको शिर ठाडो पार्न र जनतामा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्ने देखिन्छ ।