कांग्रेसलाई प्रधानमन्त्रीको सुझाव : धमिलो पानीमा माछा पार्ने रहर नगर्नु

काठमाडौं -आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव दिएका छन् ।

सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा किन ल्याएको ? कर्मचारीको वृत्तिविकास रोक्न मिल्छ ? जस्ता प्रश्न आएको भन्दै उनले भने, ‘स्वेच्छिक अवकासमा जाँदा अनावश्यक ५०-६० अर्ब व्ययभार बोक्नुपर्थ्यो ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गरेको भए उमेर भएका राष्ट्रसेवकलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपर्ने पनि बताए ।

आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधिकारिक ट्रेड युनियनसँग भएको सहमतिअनुसार नै कर्मचारी समायोजन अघि बढेको बताए ।यसमा चित्त दुखाउनु नपर्ने उनले बताए । कर्मचारी आन्दोलनतर्फ संकेत गर्दै उनले भने, पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्नु नै उपयुक्त हुन्छ ।