स्मार्ट सिटी गुरुयोजना छ महिनाभित्र तयार हुन्छ
– नेत्रप्रसाद सुवेदी–प्रमुख प्रशासकीय अधिकृत, भरतपुर महानगरपालिका कार्यालय, चितवन
भरतपुर महानगरपालिकाको प्रशासनिक नेतृत्वमा नेत्रप्रसाद सुवेदीको प्रवेश भएपछि यस नगरले परिवर्तनको आशा जगाएको छ । प्रयास उपनामले समेत चिनिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भरतपुर नगरलाई स्मार्ट सिटी बनाउने प्रयासलाई सफलतातिर डो¥याउँदै हुनुहुन्छ । जवाफदेही प्रशासनमा चुस्त र स्पूmर्त हुने उहाँको प्रयास पनि सराहनीय नै छ । रचनात्मक कार्यमा सकारात्मक विचारले अग्रसर वरिष्ठ अधिकृत सुवेदीसँग शिशिर सापकोटाले गरेको समसामयिक कुराकानी ः
तपाईं यस कार्यालयमा कहिलेदेखि कार्यरत हुनुहुन्छ ?
२०७५ जेठ ३ गतेदेखि हालसम्म ।
यस अवधिमा तपाईंले यस कार्यालयमा देखे÷भोगेका समस्या के के हुन् ?
कामका क्रममा पर्ने स्वभाविक समस्यावाहेक अन्य समस्या भोग्न परेको छैन ।
समाधानका उपायबारे के योजना बने र बन्दै छन् ?
कार्यविभाजन, कार्ययोजना, राष्ट्रिय तथा स्थानीय विषय विज्ञहरु परिचालन तथा अन्य कार्यविधिहरुको निर्माण र कार्यान्वयन ।
अधिकांश जनप्रतिनिधिको गुनासो छ कि महानगरका कर्मचारीले काम नै गरिदिन्नन्, यसमा कति सत्यता होला ?
कामको वातावरण वनाउनका लागि राजनीतिक व्यक्तिहरुको समेत सकारात्मक पहल आवश्यक पर्दछ । केही छिटपुटरुपमा प्रवृत्तिगत समस्या भएवाहेक कर्मचारीहरु सवै काममा जुटेका र कार्यालय समयभन्दा अघिपछि पनि कार्यालयको काममा समर्पित भएको मेरो बुझाई रहेको छ ।
पदीय जिम्मेवारीका हिसाबले नगर प्रमुख र उपप्रमुखसँग तपाईंको सम्बन्ध कस्तो छ ?
महानगरको उच्च नेतृत्वमा रहनुभएका दुवैजनासँग मेरो राम्रो सम्वन्ध छ । प्रशासनिक निर्णयका सम्वन्धमा आदेशको एकात्मकताका लागि नगरप्रमुखज्यूसँग सिधै पेश हुने भएतापनि सार्वजनिक सरोकारका विषयहरुमा दुवैजनासँग छलफल गरेर मात्र टुंगोमा पुग्ने गरिएको छ ।
गुनासो सम्बोधन गर्ने सिष्टम के छ ?
गुनासोको किसिमअनुसार सम्वोधनको तरिका फरक पर्ने हुन्छ । कर्मचारी व्यवस्थापनसँग सम्वन्धित गुनासो सुन्ने तथा सेवा प्रवाहको समग्र गुनासो सुनुवाई गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको भएतापनि सूचना अधिकारी तथा टोल फ्रि नम्वर संचालन गर्ने कर्मचारीले पनि जिज्ञाशाहरुको जवाफ दिने र सोसल मेडियामा उठेका विषयलाई र पत्रपत्रिकामा उठाइएका विषय वा सेवाग्राही वा सरोकारवाला संस्थाबाट उठाइएका जायज सवालहरुलाई स्थलगतरुपमा अवलोकन गरेर सम्वोधन गर्ने गरिएको छ ।
जनप्रतिनिधि र कर्मचारीबीच हुने तनावका मूल कारण के के हुन् ?
एक अर्काको भूमिका र महत्व नवुझ्दा असमझदारी वढ्ने हुन्छ भने कुनै व्यक्तिविशेषका कमजोरी वा व्यवहारलाई सामान्यीकरण गर्दा पनि अविश्वास बढेर जान्छ । दुवै पक्षको उद्देश्य विकास निर्माण र सेवा प्रवाहमा सुधार गर्ने भएतापनि प्रकृयालाई वाधक ठान्ने जनप्रतिनिधि र विधिको पालना गर्नैपर्ने कर्मचारीतन्त्रका कारण कहिलेकाहीं तनाव उत्पन्न हुने गर्दछ ।
अत्यधिक जनचासो रहेको महानगरको फोहोर व्यवस्थापन, सडक व्यापार र यातायात व्यवस्थापन महानगरले गरेका प्रयास हुन्, अझै पनि सफल हुन सकेको छैन भन्ने जनगुनासो छ, यसबारे तपाईंको भनाइ के छ ?
फोहोर व्यवस्थापनका लागि दीर्घकालीन समाधान गर्न व्यवस्थित ल्याण्डफिल साइटका लागि मास्टरप्लान बनाउन कोरियन कम्पनीसँग सम्झौता भएको छ भने अल्पकालमा फोहोरलाई छुट्याएर पुनर्प्रयोग गरी फोहोरको आकार घटाउने रणनीति अपनाइएको छ ।
महानगरको गुरुयोजना अनुसार कहिलेसम्म काम होला र काम भयो भने यो महानगर कस्तो बन्ला ?
स्मार्ट सिटी गुरुयोजना आगामी ६ महिनाभित्र तयार हुन्छ । गुरुयोजनामा आधारित भएर बनेका कार्यक्रमहरु कार्यान्वयन गर्न सहज हुनेछ । अवस्य पनि गुरुयोजना अनुसार स्रोत व्यवस्थापन हुन सकेमा भरतपुर महानगरपालिका स्मार्ट सिटी बन्नेमा शंका छैन ।
वर्तमान संरचनामा ऐन कानुन र अन्य कारणले पनि महानगरले भोग्नुपरेका प्रशासनिक अप्ठ्यारा के के हुन् ?
संघीय तह र प्रादेशिक तहबाट तयार भएपछि मात्र कानून वनाउन सरल हुनेहुँदा प्रतिक्षाको समय लम्विदै गएको छ । त्यस्तै सेवा सुविधा सम्वन्धमा प्रदेशले बनाएको कानूनले सवै पद समेटेको छैन । स्थानीय सरकारले नै निर्णय गर्न सक्ने भन्ने फरक बुझाई पनि रहेको छ । संरचनाका हकमा केही पदहरुमा वाहेक समस्या छैन । समायोजनपछि समाधान भएर जानेछ ।
र अन्त्यमा, भन्नै पर्ने र भन्न मन लागेका कुरा ?
भरतपुर महानगर संभावनाले भरिएको र विकासको पथमा अघि वढिरहेको स्थानीय तह हो । अहिले हुने विकासमा स्थानीय तहमा रहेका राजनैतिक र प्रशासनिक व्यक्तिहरुका अलावा यहाँको निजी क्षेत्र, नागरिक समाज, सहकारी लगायतका संस्थाहरु र भरतपुरवासीकै साथ सहयोग आवश्यक छ । यो अभियानमा संघीय र प्रादेशिक तहबाट समेत सहयोग आवश्यक छ । हामीहरुले विकासका सवै क्षेत्रहरुमा सुनियोजित सुधारको पहल गरेका मात्र छैनौ कतिपय अवस्थामा रुपान्तरणको खाँचो र अलि आँट र साहसको खाँचो छ जुन मैले महानगरको नेतृत्वमा रहेको पाएको छु । मेडियाकर्मी साथीहरुले पनि भएका राम्रा कामलाई सकारात्मक ढंगले वाहिर ल्याइदिनुपर्दछ । सबैको साथ सहयोग मिलेमा भरतपुरलाई नमूना महानगर बनाउन संभव छ ।