सेनापति थापा किन जादैछन् भारत ?
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाल र भारतबीचको ‘सैनिक कूटनीति’ चिसिएको बेला हुन लागेको प्रधानसेनापति थापाको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
काठमाडौंमा सम्पन्न बिमस्टेक बैठकका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमस्टेक राष्ट्रहरुको सैनिक अभ्यास हुन लागेको घोषणा गरेका थिए । सो सैनिक अभ्यासमा नेपालले समेत सहभागिता जनाउने सहमति नेपाल सरकारले दिएको थियो । तर, यहीवीचमा सैनिक अभ्यास हुनै लागेका बेलामा आएर नेपाल सरकारले नेपाली सेनालाई त्यसमा सहभागी नहुन निर्देशन दिएपछि भारत नेपालसँग असन्तुष्ट छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले न्युयोर्कमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई यो असन्तुष्टिबारे संकेत गरेकी थिइन् । नेपालले बिमस्टेक राष्ट्रहरुको सैन्य अभ्यासमा सहभागी नहुने निर्णय गर्नु सही थियो कि गलत ? यसबारेमा चासो राख्दा नेपाली सेनाका उच्च अधिकारीहरुको जवाफ मध्यमार्गी खालको छ । सेनाका एक उच्च अधिकारी भन्छन्– ‘सेनाले सरकारको निर्देशन मान्ने भएकाले सरकारले जा भन्दा हामी जान्छौं र नजा भन्दा जाँदैनौं, बिमस्टेकको सैन्य अभ्यासमा नजाने निर्णय नेपाली सेनाको नभएर सरकारको राजनीतिक निर्णय हो ।’
ती सैनिक अधिकारीका अनुसार बिमस्टेक राष्ट्रको सैन्य अभ्यास त्यस्तो कुनै जटिल रणनीतिक विषय थिएन । नेपाली सेनाले चीन अमेरिका लगायतका सेनासँग मिलेर विभिन्न अभ्यासहरु गर्दै आएको हुनाले भारतसँग गर्नै हुँदैन भन्ने थिएन । तर, रक्षामन्त्री र प्रधानमन्त्री कार्यालयले यसमा परिपक्वता देखाउन नसक्दा नेपाल र भारतको सैनिक कूटनीतिमा चिसोपन देखिएको हो ।
नेपाल र भारतवीच राजनीतिक एवं आर्थिक सम्बन्धहरुमा विभिन्न उतारचढाव देखा पर्दै आएता पनि नेपाली सेना र भारतीय सेनावीचको सम्बन्ध अहिलेसम्म सुमधुर नै रहँदै आएको छ । तर, बिमस्टेक राष्ट्रको सैन्य अभ्यास बहिस्कारले सैनिक कूटनीतिमा पनि असर पारेको सुरक्षा मामिलाका जानकारहरुको विश्लेषण छ ।
प्रधानसेनापतिको भारत भ्रमणले चिसिएको ‘सैनिक कूटनीति’ मा न्यानोपन आउने जंगीअड्डाको अपेक्षा रहेको देखिन्छ ।
प्रधानसेनापति थापा भारतीय स्थल सेनाध्यक्ष विपीन रावतको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली जान लागेका हुन् । भ्रमणमा क्रममा प्रधानसेनापति थापालाई विगतको परम्पराअनुरुप भारतीय राष्ट्रपति रामनाथ कोविदले भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
भ्रमणमा क्रममा थापाले भारतीय वायु सेना र जलसेनाका प्रमुखहरुसँग पनि भेट गर्नेछन् । पुस २७ गते भारत जाने प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कने बताइएको छ ।