कृषि विकास बैंकले २१प्रतिशत लाभांश दिने

काठमाडौँ- कृषि विकास बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४-७५ को वितरणयोग्य नाफाबाट आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश र छ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको छ ।

यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिए । बैंकले आव २०७४-७५ मा रु तीन अर्ब ६७ करोड ३२ लाख वितरणयोग्य मुनाफा गरेको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी रु १३ अर्ब ९३ करोड २५ लाख छ ।