महिला टी-२० क्रिकेट – नेपालले चीनलाई १० विकेटले हरायो
काठमाडौँ- आजदेखि थाइल्याण्डमा शुरु भएको महिला टी-२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ ।थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा ग¥यो ।
नेपालको जितमा सीता रानामगरले नट आउट २३ तथा काजल श्रेष्ठले १४ रन जोडे । सीताले २५ बल खेल्दै तीन चौका प्रहार गरिन् । यस्तै काजलले एक चौका प्रहार गरिन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ४८ रन बनाएको थियो । चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
चीनलाई ४८ रनमा समेट्ने क्रममा नेपालकी नेरी थापाले दुई र करुणा भण्डारीले तीन विकेट लिइन् । नेपालका लागि करुणाले चार ओभरमा नौ रन खर्चेर तीन विकेट लिइन् । नेरीले चार ओभरमा दुई ओभर मेडन राख्दै छ रन मात्र दिएर दुई विकेट लिइन् ।
जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्क जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग खेल्नेछ । त्यस्तै सोमबार युएइ र बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा सहभागी हुन नेपाली महिला राष्ट्रिय टोली शुक्रबार त्यसतर्फ गएको हो । नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी थाइल्यान्ड गएका छन् । नेपाली टोलीमा रुविना क्षेत्री (वेलवासे)को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उप-कप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल तथा वैकल्पिक खेलाडीमा रितुकुमारी कनोजिया, सुमन विष्ट र सब्नम राई रहेका छन् ।