अख्तियारद्वारा एन्फा अनियमितताबारे छानबिन गर्ने
काठमाडौँ- काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।
आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले सोमबारदेखि आयोगले प्रारम्भिक छानबिन शुरु गरेको जानकारी दिए ।
उजुरी परेपछि त्यसमा छानबिन गर्नु आयोगको कर्तव्य भएको बताउँदै उनले त्यसबारे युवा तथा खेलकूद मन्त्रालयमा छानबिन गर्न पत्र पठाइएको जानकारी दिए ।
हामी छानबिनको प्रारम्भिक चरणमा छौँ, अहिले नै भ्रष्टाचार भयो भनेर भन्न मिल्दैन, छानबिनपछि सबै कुरा बाहिर आउँछ ।
गत वैशाखमा भएको एन्फाको नयाँ नेतृत्व चयनको निर्वाचनका क्रममा आर्थिक अनियमितता भएको लगायत विभिन्न आरोप लगाउँदै आएका चार जिल्ला फुटबल सङ्घले केही दिनअघि अख्तियारमा उजुरी दिएका थिए । उजुरी परे लगत्तै अख्तियारले मन्त्रालयलाई पत्र पठाउँदै १० दिनभित्र एन्फाबारे सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको छ ।
गत पुस १७ गते फुटबल सङ्घ काठमाडौँका अध्यक्ष विराटजङ्ग शाही, ललितपुर अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गरेका थिए । यसैबीच एन्फाले वर्तमान नेतृत्वमाथि शृङ्खलाबद्ध आरोपहरू आउन थालेकामा चिन्ता व्यक्त गर्दै आरोप पुष्टि गर्न चेतावनी दिएको छ ।
आरोप लगाएर मात्र हुँदैन प्रमाणित गर्नुपर्छ, आरोप प्रमाणित भए कारवाही भोग्न तयार छौँ, अन्यथा जिल्ला फुटबल सङ्घहरूमाथि नै कारवाही हुन्छ । एन्फाले आफूमाथि लागेको आरोपसहित विभिन्न १० एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही माघ ३ गते बोलाएको छ । कार्यसमिति बैठकमा विराटनगरमा आगामी फागुनमा आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसीप, महिला टोलीको पुरस्कार, मोफसलमा हुने फुटबल प्रतियोगिताको वर्गीकरणलगायत विषयमा छलफल हुने प्रवक्ता राईले बताए ।