प्रधानमन्त्रीज्यु राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याउने कि नसच्याउने:गगन थापा
काठमाडौ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले डाक्टर गोविन्द केसीसँग गरिएको सहमतिविपरित संसदीय समितिले पारित गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’लाई संसदको फूल हाउसमा पेश गर्न माग गरेका छन्।
नेता थापाले संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ स्पष्ट नभएको भन्दैसो विधेयक वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमतिअनुसार नै संसदीय संसदको ‘फूल हाउस’बाट पारित गराउन माग गरेका हुन्।
शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो विधेयकलाई बरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति अनुसार सच्याउने हो भने सरकारले संसदको ‘फूल हाउस’मा पेश गर्नुपर्ने बताए।
संसदीय विधि र प्रक्रियाअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक सच्याउन चाहेको हो भने संसदको फूल हाउसमा प्रस्ताव पेश गर्नुपर्ने उनको दाबी छ। प्रधानमन्त्री ओलीले संसदीय सर्वोच्चताको कुरा गरेर के भन्न खोजेको हो भन्ने स्पष्ट नभएको नेता थापाले उल्लेख गरे।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति विपरित सो विधेयक पारित गरेको थियो। त्यसप्रति असहमति जनाउँदै आएका सांसद थापाले सो विधेयक संघीय संसदको फूल हाउसबाट सच्याउने अवसर सरकारलाई रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन्।
बरिष्ठ चिकित्सक केसीले समितिले पारित गरेको सो विधेयक सच्याउन दवाब दिँदै १६ औं पटक आमरण अनसन बसिरहेका छन्।