हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक, वार्तामा असर पर्ने सम्भावना
वासिङ्टन-वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ ।अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ ।
अमेरिकी न्याय विभागले इरान विरुद्धको अमेरिकी प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरी इरानसँग कारोबार गरेको तथा हुवावेको अमेरिकी साझेदार कम्पनी टी-मोबाइलबाट व्यापारिक गोप्यता चोरी गरेको अभियोग लगाएको छ ।
विश्लेषकहरुले व्यापार वार्ता नियमित रुपमै अघि बढ्ने अनुमान गरेका छन्, तर कुनै निश्चित उपलब्धि तत्कालै सम्भव नहुने आशङ्का बढेको छ । दुबै पक्ष आगामी मार्च १ तारिखभित्रै कुनै सहमतिमा नपुगे करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा हाल लागेको १० प्रतिशत करवृद्धिलाई २५ प्रतिशत पुर्याउने अमेरिकाले जनाएको छ ।
चिनीया अधिकारीहरुले वार्तालाई निरन्तरता दिनेछन्, ब्रुकिङ इन्स्टिच्ट्युसनका वरिष्ट विश्लेषक डेभिड डोलरले बताए । उनीहरु अमेरिकी न्याय विभागको कार्यबाट प्रसन्न हुने कुरै छैन, तर मेरो विचारमा उनीहरुले हुवावे मामिलालाई व्यापार वार्तामा उठाउने छैनन् ।
अमेरिकी व्यापार प्रतिनिधिहरुले अमेरिकी प्रशासनको पछिल्लो कदमले दुबै मुलुकबीच जारी व्यापार वार्ताको वातावरणलाई नोक्सान पुर्याउने सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।