सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि

रोल्पा-सन्तानको रहर पुगेर गर्भपतन गराउने भन्दा पहिलो पटक गर्भ हुनेले गर्भपतन गराउनेको सङ्ख्या धेरै देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।

गत वर्ष सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या ३१२ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । यस्तो सेवा लिनेमध्ये अधिकांश किशोरी रहेका छन् । पहिलो पटक गर्भ रहेकै बेला उनीहरुले यस्तो सेवा लिएको छ । आर्थिक वर्ष २०७३-०७४ मा ३७७ महिलाले स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिएका थिए भने सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ३१२ थियो ।

उमेर नपुग्दै विवाह गरेका गर्भवती किशोरीले सबैभन्दा बढी असुरक्षित गर्भपतन गराउने गरेको छ, स्वास्थ्यकर्मीहरु भन्छन्, अधिकांशलाई निश्चित अवधिको गर्भपतन गर्न पाइन्छ भन्ने जानकारी नै छैन, जानकारी भएका पनि गोपनीयता भङ्ग हुने डरले स्वास्थ्य केन्द्रमा आएर गर्भपतन सेवा लिन नचाहेको हो ।

असुरक्षित ढङ्गले घरमै वा औषधि पसलमा गर्भपतन गराउनेको सङ्ख्या योभन्दा धेरै हुन सक्छ । सूचीकृत स्वास्थ्य संस्था गएर गर्भपतन गराउन झन्झट मान्ने तथा गोपनीयता भङ्ग हुने डर भएका कारण जिल्ला बाहिर गएर पनि गर्भपतन गराएको बुझिन्छ । स्वास्थ्य संस्था बाहिर अवाञ्छित गर्भपतन गराउनेको सङ्ख्या ठूलो रहेको जिल्ला जनस्वास्थ्य प्रमुख डा. सुशील आचार्यले बताए ।