चर्चित कलाकार बिएस राणाको निधन
काठमाडौँ- नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । करीब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए ।
राणाले दर्जनौ नेपाली चलचित्रमा पनि अभिनय गरेका थिए। उनको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिए ।
उनले अभिनय गरेका दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ-२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनौ टेलिचलचित्रमा अभिनय गरेका थिए ।
काठमाडौँ बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । छोराको केही वर्षअघि नै निधन भइसकेको राणाका तीन छोरी र श्रीमती छन।