स्वास्थ्यमा सुधार देखिएपछि पूर्व युवराज पारस शाह डिस्चार्ज

काठमाडौं- माघ १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व युवराज पारस शाह स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि आज डिस्चार्ज भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई पनि हृदयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कालेस्ट्रोल बढी भएको जनाइएको छ । यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

शाहको उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिएका थिए । पारसको उपचारमा प्रा. डा. यादवदेव भट्टको नेतृत्वमा डा. जेपि अग्रवाल, डा. नग्मा श्रेष्ठ  लगायत १४ जना स्वास्थ्यकर्मीको टिम खटाइएको थियो।

बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनको भनाई छ । पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको भट्टले बताए ।

अस्पताल भर्ना भएपछि छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन पूर्वरानी कोमल शाह सिमराबाट काठमाडौँ आएकी थिइन् । अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पूर्णिका र कीर्तिकाका साथमा रहेकी पारस पत्नी हिमानी भने नेपाल फर्किनन् ।