राणा र लोहनीबीच एकता
वोहोरा र विष्ट अब जान्छन् कता ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच शुक्रबार पार्टी एकता भएको छ । २०७० सालको निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट गरी कुल १२ सिटमा निर्वाचित भएको माउ पार्टी राप्रपा र तत्कालीन राप्रपा–नेपालबीच एकता हुँदासमेत २०७५ सालको संसदीय निर्वाचनमा राप्रपा राष्ट्रिय दल बन्न सकेन । राप्रपाले बाम गठबन्धनको समर्थनमा एक सिट जितेपछि संसदमा दलको हैसियत राप्रपाले पाउन सकेन । यद्यपी चुनाव अगाडि नै राप्रपाबाट पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अगल भइ नयाँ पार्टी खोलेका थिए ।
निर्वाचनमा नराम्ररी पराजित भएपछि पुन यी तीनवटै दलबीच एकताको प्रयास भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यी दलबीच एकता गर्न सुझाव र दवाब दिँदै आएका थिए ।
राप्रपा, राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्ट्रवादीबीच एकता गर्ने बारेमा निकै गृहकार्य भएपनि त्यो असफल भएपछि दुई पार्टीवीच मात्र एकता भएको एक नेताले बताएका छन् ।
दुई पार्टीको एकता पछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ, ‘नेकपा नेतृत्वको वर्तमान सरकारले संविधानको मर्म र भावनालाई उपेक्षा गरेको छ भने सत्तालाई जनताको हितको सट्टा सीमित शासकका आसेपासेको आर्थिक हितमा केन्द्रित छ । यो परिवेशमा प्रतिपक्ष देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त तथा अवधारणालाई बचाउन सत्ता बाहिर रहेका राजनैतिक शक्तिले जनताको हितलाई केन्द्र बिन्दुमा राखेर एकता प्रक्रिया अगाडि बढाउनु अनिवार्य भएको छ ।’
पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एराप्रपा राष्ट्रवादी एक भएपछि दुवै पार्टीका अधिकांस नेता, कार्यकर्ता र राष्ट्रवादी जनता हर्षित भएका छन् भने दुवै पार्टीका केही नेताहरु पनि असन्तुष्ट देखिएका छन् ।
एकता घोषणासभा कार्यक्रममा राप्रपा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका उपाध्यक्षदेखि महामन्त्रीसम्म कोही पनि सहभागी भएनन् ।
एकता घोषणा कार्यक्रममा उपाध्यक्ष सुष्मा आचार्य, महामन्त्रीद्वय केशवराज श्रेष्ठ र तिर्थ श्रेष्ठ, कार्यसम्पादन समितिका सदस्य पूर्व माननीय कैयाँ चौधरी, केन्द्रीय सदस्यहरु राजीव विक्रम शाह, कौशल्या थापा, अञ्जु थपलिया, ऋषि बुढाथोकी, अरबिन्द जोशीलगायतले कार्यक्रम बहिष्कार गरेका छन् ।
पार्टी एकता सम्बन्धी कुनै पनि एजेण्डा, विषयवस्तुहरु पार्टीको कार्यसम्पादन समितिमा पनि छलफलमा नल्याएको, केन्द्रीय समितिमा पनि छलफलमा नलगी कुनै पनि कार्यकर्तालाई जानकारी नदिई हुकुमी शासन शैलीमा पार्टी एकताको निर्णय गरेको उनीहरुको आरोप छ ।
उनीहरुले प्रजातान्त्रिक उपाय नपनाई एकल निर्णयका आधारमा पार्टी एकता गरिएकाले एकता कार्यक्रम बहिस्कार गर्ने अवस्था आएको वतताउँदै महामन्त्री केशवराज श्रेष्ठले पार्टी एक हुँदा जनतालाई के सन्देश दिने भन्नेबारे स्पष्ट नीति नभएकाले नवगठित राप्रपा संयुक्तमा आफूहरु नरहेको बताएका छन् ।
‘कार्यसम्पादनबाट अनुमोदन भएर केन्द्रीय समितिमा जानुपथ्र्यो । मनोमानी ढंगले एकता गर्नुभयो, त्यसमा हाम्रो घोर आपत्ति छ । खालि पार्टी जुट्ने र फुट्ने प्रवृत्ति छ । नेता मात्रै मोटाउँदै जाने प्रवृत्ति रोक्नुपर्छ,’ उनीहरुको भनाइ छ ।
यस्तै यता प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्षद्वय दीपक बोहोरा र केशर बहादुर विष्ट लगायतका केही नेताहरु पनि एकता प्रकृयामा सहभागी भएका छैनन् । बोहोरा र विष्टसहित निलकण्ठ काफ्ले, विन्दु पहाडी, सुरेन्द्र केसी, विष्णु भट्टराई, राजेन्द्र श्रेष्ठ, प्रदीप उदय ताहिर अली, गिरीधारी परियार लगायतका नेता एकता प्रकृयामा सहभागी भएनन् ।
असन्तुष्टको ठूलो समूह कमल थापा नेतृत्वको राप्रपातिर जान्छ कि नयाँ पार्टी खोल्छन् भन्ने टुंगो लागेको छैन । यो समूहलाई संयुक्त राप्रपाले पार्टीमा आउन आग्रह गरिरहे छ भने कमल थापा नेतृत्वको राप्रपाले पनि आफू तिर तान्न लविङ गरिरहेको बुझिएको छ । वोहोरा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमतिर प्रवेश गर्ने सम्भावना पनि रहेको उनी निकटस्थ स्रोतको दावी छ ।