रुकुम पूर्वमा तनाव: बुटवलबाट हेलिकोप्टरमार्फत थप सुरक्षाकर्मी लगियो

सदरमुकामको विषयलाई लिएर जारी आन्दोलन उग्र बन्दै गएपछि रुकुम पूर्वमा तनाव उत्पन्न भएको छ।

अस्थायी सदरमुकामका रुपमा रहेको सिस्ने गाउँपालिका ५ र ६ बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा सार्ने विषयमा विवाद हुँदा तनाव उत्पन्न भएको हो।

जिल्लाको स्थायी सदरमुकाम रुकुमकोटमा कि पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडा भन्ने विषयमा विवाद भएको हो। दुवै स्थानका स्थानीयबासीले सदरकुकामको दावी गरेपछि स्थिति तनावग्रस्त बनेको हो।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते  रुकुम पूर्वको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडालाई बनाउने निर्णय गरेको थियो। सरकारले निर्णय गरेको लामो समय बितिसक्दा पनि निर्णय कार्यान्वयन नभएपछि गोल्खाडावासीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएका छन्।

गोल्खाडाबासीलाई ज्ञापनपत्र बुझाउन जानबाट रोक्ने तयारी रुकुमकोट बासीहरुले गरेपछि जिल्लामा सुरक्षाको व्यवस्था कडा पारिएको छ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले दुवै पक्षले भिडन्तको तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको र थप सुरक्षाकर्मी ल्याइएको बताए।

दुवै पक्षको आन्दोलनका कारण तनाव उत्पन्न भए पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। कुनै प्रकारको अप्रिय घटना हुन दिँदैनौँ प्रजिअ शर्माले भने ।

जिल्ला प्रशासन कार्यालयले भने दुवै पक्षको सम्भावित भिडन्त रोक्न सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ।

गत आइतबार देखि लगाइँदै आएको निषेधाज्ञालाई पनि जारी राखिएको प्रजिअ शर्माले जानकारी दिए।