बिजुलीको सुविधा भएपछि बारेकोटवासी दङ्ग
जाजरकोट-वर्षौंदेखि अन्धकारमा बस्दै आएका बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा छ वर्षपछि बिजुली बत्ती बलेको छ । बिजुली बलेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । स्थानीयवासी २४ घण्टा गाउँमा बिजुलीको सुविधा भएपछि दङ्ग परेका हुन् ।
गाउँपालिका-८ को सेपुखोलास्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत् उत्पादन भएको छ । बिजुली बलेपछि सेपुखोला, गोलखारा, जुगेन, बन्डाला, रैनेपानी, छुतीपाल्ती, कोलयानी, डाँडागाउँलगायत क्षेत्रका ३३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएको सेपुखोला लघु जलविद्युत् आयोजना निर्माण समितिका अध्यक्ष वेदराज सिंहले बताए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दको अनुदान, नगरपालिका तथा स्थानीयवासीको जनश्रमदान गरी कूल रु दुई करोड लागतमा विद्युत् आयोजना निर्माण भएको सिंहले बताए। बिजुली बाल्न प्रतिघरपरिवारले एक महीना बढी श्रमदान गरेका थिए ।
गाउँमा बिजुली बत्ती बलेपछि वडापालिका, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, पशु उपशाखा लगायत कार्यालयको कामकाजमा सहज भएको छ । बिजुली बलेपछि बालबालिकालाई पढ्न लेख्न प्रत्यक्ष फाइदा पुगेको छ भने बालबालिकामा पढ्ने बानीको विकास भएको विद्यार्थी मानकुमारी बुढाले बताए ।