आइतबारबाट मौसममा सुधार आउने

काठमाडौं- काठमाडौँ उपत्यकासहित मुलुकभर बदली भई बिहीबार बिहानबाट वर्षा भएको छ । आइतबारबाट मौसममा सुधार आउने जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले आइतबारबाट देशको पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा सामान्यतः सफा रहने सम्भावना रहेको बताए ।

पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले मौसम बदली भई बिहीबारबाट मुलुकभरि वर्षा र हिमाली भेगमा हिमपात भएको हो ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात र उच्च पहाडी तथा हिमाली भेगको एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, पूर्वी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना हुनुका साथै देशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।