१ लाख ५१ हजार नक्कली नोटसहित एकजना पक्राउ
काठमाडौं- महानगरीय प्रहरी प्रभाग,गोंगबुले १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित गोंगबुबाट ओमबहादुर कुँवर क्षेत्रीलाई पक्राउ गरेको छ ।
अनुसन्धान अधिकारीहरुका अनुसार गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । त्यहाँ एउटा फ्ल्याटमा छापा मार्दा ओमबहादुरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो ।
उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।हाल हिक्मत कुँवर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रारम्भिक अनुसन्धानले उनीहरु मेनपावर एजेन्ट भएको देखिएको छ । उनीहरुले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ ।ती नोट बजारमा पुगेको हुनसक्ने आशंकामा प्रहरीले सर्वसाधारणलाई सचेत रहन समेत सुझाव दिएको छ ।