बडिगाड खोलामा जलबिद्युत आयोजना र पर्यटक भित्र्याउने पहल सुरु

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले बडिगाड खोला क्षेत्रमा सबै पक्षको साझा लगानीमा जलविद्युत आयोजना, खानीउद्योग, ¥याफ्टिङलगाएत सामाजिक विकास, पूर्वाधार र पर्यटन विकास, बडिगाड पर्यटकिय सर्किटको अवधारणा अगाडी सारेको छ । उसले त्यस क्षेत्रका सबै जनप्रतिनिधी र विज्ञहरूलाई जुटाएर बुधबार देखि दुई दिने अन्तरकृया कार्यक्रमको आयोजना गरी यस्तो अवधारणा अगाडी सारेको हो ।
बडिगाड क्षेत्रको संभावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम बडिगाड क्षेत्रका ६ स्थानिय तहका प्रमुख, उपप्रमुख सहित कार्यपालिकाका सदस्यहरूको सहभागितामा साझा सरोकारका विषयहरू पहिचान गर्ने र कार्यान्वयनको लागी पहलकदमी लिने गरि कार्यक्रमको आयोजना गरिएको आयोजक मुसिकोट नगरपालिकाले जनाएको छ ।
गुल्मी जिल्लाको उत्तर पूर्व सत्यवति, चन्द्रकोट र मुसिकोट तथा बागलुङ जिल्लाका पश्चिम क्षेत्रका गल्कोट, बडिगाड र ढोरपाटन नगरपालिका तथा गाउँपालिकाको सहभागिता रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य खड्क केसीले सबैको सामूहिक प्रयासवाट स्पष्टमार्ग पहिल्याइ गरिने विकासले मात्रै सम्वृद्धि ल्याउने वताए ।
कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, चन्द्रकोट गाउँपालिकाका द्रोण खत्री, सत्यावति गाउँपालिकाका प्रमुख पारिश्वर ढकाल सहितको टोलीले विभिन्न समूहमा रहेर छलफल गरेको थियो । यस क्षेत्रमै पहिलो पटक एकै क्षेत्रका स्थानिय तह सामूहीक समस्या पहिचानको लागी अन्तरक्रियामा सहभागी भएका हुन् ।
उद्घाटन कार्यक्रम मुसिकोटका नगरप्रमुख सापकोटाको अध्यक्षता, वडाअध्यक्ष तथा कार्यक्रमका संयोजक नारायण सापकोटाको स्वागत मन्तव्य तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।