रंगशालाले छाएको खुशी

चितवन÷ भरतपुर १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएपनि भरतपुर १६ का जनतामा बढी खुशी छाएको छ । रंगशाला बन्ने स्थान भरतपुर १५ मा परे पनि सम्मुखको बस्ती वडा नं. १६ मा परेकाले यहाँका बासिन्दा बढी हर्षित भएका हुन् । स्थानीयका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशाल फाँटमा रहेको खुलाचौरका कारण दुईतर्फी बस्ती बस्ने सम्भावना नभएकाले यहाँको विकासले गति लिने लक्षण थिएन । तर यति छिट्टै उज्यालो भविष्यको आशा बोकेर आएको रंगशाला यहाँका बासिन्दाका लागि सीमाहिन हर्ष भएको छ । यहीँबेला घरजग्गा व्यापारी सल्बलाएका छन् । यहाँ एकाएक घरजग्गाको भाऊ बढाउने क्रम चलेको छ ।
वडा नं. १६ का समाजसेवी प्रकाश कँडेलका अनुसार अब यहाँको समृद्धि कसैले रोकेर रोकिने अवस्थामा रहेन । नेपालकै गौरवशाली आयोजना बहुउद्देशीय रंगशाला निर्माण हुनु यहाँका लागि कम गौरवको कुरा होइन ।
माघ १६ गते काठमाडौंबाट सार्वजनिक गरिएको रंगशाला निर्माण घोषणा कार्यक्रमको पहिलो चरणमा माघ २० गते आइतबार डीपीआरको शुभारम्भ गर्न आएका धुर्मुस सुन्तलीलाई यहाँका स्थानीयले भव्य स्वागत र सम्मान गरे । उनीहरूको साथमा भरतपुरकी नगरप्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह तथा अन्यको विशाल जनसहभागिता थियो । उक्त कार्यक्रमको संयोजन स्थानीय समाजसेवी प्रकाश कँडेलले गर्नुभएको थियो ।
यो रंगशाला भरतपुर महानगरपालिकाको संयोजनमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनको स्वामित्वमा रहेको करिब २२ बिघा जमिनमा यो रंगशाला दुई वर्षभित्र निर्माण गर्ने फाउण्डेशनको लक्ष्य छ ।
मलेसियामा सांस्कृति कार्यक्रम
रंगशाला निर्माणका लागि आर्थिक सहयोग संकलनमा धर्मुस–सुन्तली जुटेका छन् । यसका लागि मलेसियामा धुर्मुस–सुन्तली साँझ आयोजना गरिएको छ । रंगशाला निर्माणको घोषणासँगै पहिलो प्रस्तुतिको लागि धुर्मुस–सुन्तलीका साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनी, आधुनिक गायिका मेलिना राई, लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ्ग मलेसिया पुगेका छन् ।


धुर्मुस र सुन्तली ब्राण्ड एम्बेस्डर रहेको सिटी एक्सप्रेसले कार्यक्रमको आयोजना गरेको हो । जसअन्तर्गत क्वालालम्पुर, डेवान मारियमेनको सिटी सेन्टर र पेनाङ एसटी एन्नी चर्चमा कार्यक्रम सम्पन्न भएको छ । अर्काे कार्यक्रम यही फेब्रुअरी १० तारिख अर्थात आज जोहरबारुमा हुने आयोजकले जानकारी दिएको छ ।