सित्तैमा भत्ता बाँड्ने कार्यक्रम होइन-श्रममन्त्री विष्ट

काठमाडौं-प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कतिपयले कार्यकर्ता पोस्ने कार्यक्रम भनी आरोप लगाउने गरेको तर्फ सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा भत्ता बाँड्ने कार्यक्रम नभएको बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै श्रममन्त्री विष्टले यस्तो बताएका हुन् ।

सरकारले रोजगार संयोजकको नियुक्ति गर्ने कुरामै पनि पूर्णतः कम्प्युटराइज्ड पद्धति लागू गरेको छ र यो पूर्णतः निष्पक्ष छ । यहाँ कोही आफ्नो र पराइ छैन । अब रोजगारी दिने कुरामा पनि समान व्यवस्था गरिनेछ’ मन्त्री विष्टले भने ।

अहिले मुलकमा उत्पादनका साधनहरु निष्क्रिय रहेको भन्दै युवाहरु विदेश जानैपर्ने दिनको अन्त्य गर्न लागिएको बताए । उनले भने ‘गाउँघर बाँझा छन्, आयोजना अलपत्र छन्, तर युवाहरुलाई स्वदेशमै श्रम गर्न आकर्षण गर्न सकिरहेका छैनौ । किनभने नेपाली समाजमा श्रमलाई सम्मान गर्ने संस्कृतिको अभाव छ । तर श्रम नगरी धनी बन्नेहरुले उच्च प्रतिष्ठा पाउने अवस्था विद्यमान छ । यसलाई अन्त गर्नका लागि श्रमको सम्मान आवश्यक छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सार्वजनिक क्षेत्र वा सार्वजनिक निर्माणका काममा युवाहरुलाई श्रममा लगाउने र सरकारले तोकेको ज्याला पनि पाउने दाबी गरे । उनले भने ‘यो कार्यक्रमपछि युवाहरुलाई स्वदेशमै गरिखाने पर्याप्त अवसर सिर्जना हुनेछ ।

यस कार्यक्रमले परिश्रम र पौरख गर्ने सम्मानित हुने दिनको सुरुवात हुने पनि उनले दाबी गरे । यो कार्यक्रमपछि युवाहरुले आफ्नो श्रम र सीपलाई स्वदेशमै प्रयोग गरी राष्ट्रनिर्माणमा प्रयोग गर्ने दाबी गरे । उनले भने ,मरुभूमिलाई हरियाली बनाउने हातहरु अब स्वदेशकै निर्माणमा लाग्नेछन् ।