डीपीएल- घरेलु टोली धनगढी स्टार्सको लगातार तेस्रो हार

काठमाडौं – फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रन बनाएको थियो । घरेलु टोली धनगढी स्टार्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हार ब्यहोरेको छ ।

साविक विजेतासमेत रहेको धनगढीले लगातार तेस्रो खेलमा पनि हार ब्यहोरेसँगै प्ले अफमा पुग्ने सम्भावना लगभग सकिएको छ ।१०४ रनको सामान्य लक्ष्य पछ्याएको धनगढी विराटनगर किंग्ससँग २१ रनले पराजित भएको हो । धनगढी १९ ओभरको समाप्तिमा ८२ रन हुदा अलआउट हुन पुग्यो । धनगढीका लागि दुई खेलाडीले मात्रै दोहोरो अंक बनाए । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् ।सन्दीप रजालीले ३४ र राजु रिजालले १५ रन बनाए । धनगढीका अनुभवि ब्याट्सम्यान रोहन मुस्तफा ६, सुनिल धमला एक, अमित श्रेष्ठ सात, पवन सर्राफ चार, अमिर हायत, कप्तान सोमपाल कामी र सौरभ खनाल समान ४-४ रनमा आउट भएपछि विराटगरले प्रतियोगितामा पहिलो जित हात पारेको हो ।

धनगढीलाई सस्तैमा समेट्न विराटनगरका लागि कप्तान करण केसीले चार विकेट लिए । उनले चार ओभरमा २४ रन खर्चिए । त्यस्तै, अविनाश यादवले पनि चार विकेट लिए । कसिलो बलिङ गरेका उनले चार ओभरमा १० रन खर्चेर चार विकेट लिएका थिए ।विराटनगरका लागि अविनाश यादवले २७ रन बनाए । त्यस्तै, कप्तान करण केसीले २१ रन बनाउँदा आशिफ सेख १२ र साम्सद सेख ११ रनमा आउट भए ।बलिङतर्फ धनगढी स्टार्सका कप्तान सोमपाल कामीले तीन विकेट लिए । उनले तीन ओभर बलिङ गर्दै मात्र आठ रन खर्चेर तीन विकेट लिएका थिए । त्यस्तै, विपिन खत्रीले चार ओभर बलिङ गर्दै १९ रन खर्चेर तीन विकेट लिए ।