प्रणय दिवसकै दिन वर्षा र संजोगको विवाह

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले प्रेम दिवसकै अवसर पारेर बिहीबार विवाह गरेका छन् । हिन्दु परम्पराअनुसार भएको उनीहरुको विवाह समारोहमा सीमित आफन्त, फिल्मकर्मी र साथीभाइलाई मात्र निमन्त्रण गरिएको बताइएको छ । विवाह कार्यक्रममा मिडियालाई प्रवेश दिइएको थिएन । आफन्त र शुभचिन्तकहरुलाई शुक्रबार उनीहरुले बिहे भोजको आयोजना गरेको बताएका छन् ।
६ बर्ष भन्दा बढि समयदेखि प्रेम सम्बन्धमा रहेका बर्षा र संजोगबीच यो अवधिमा कहिले पनि बिवाद र झगडा वा मनमुटावका केही खबरहरु आएका थिएनन् । उनीहरु प्रेमि प्रेमीकामात्र नभई बिजनेश पार्टनरसमेत थिए । फिल्मको अडिसनको क्रममा एक अर्कालाई भेटेका उनीहरुको त्यहीबाट नजिकको सम्बन्ध बनेको थियो । म्युजिक भिडियो हुँदै नाई नभन्नू ल ४ बाट डेब्यु गरेकी बर्षा अहिले सिनेमा क्षेत्रकी चर्चित अनि व्यस्त नायिकामा पर्छिन् । भर्खरै मात्र गोपी, दाल भात तरकारी, जात्रै जात्रामा काम गरेकी छिन् भने उनको फिल्म गोपी भर्खरै मात्र रिलिज भईरहेको छ भने चौका दाउ भने हलमा पत्तासाफ नै भयो ।
संजोग फिल्ममा कम व्यवसायमा बढि ध्यान दिन्छन् । संजोगले अभिनय गरेको फिल्म कथा काठमाडौ केही समय अगाडी रिलिज भईसकेको छ । बर्षा र संजोगले ठुलो पर्दामा भने शिव श्रेष्ठको फिल्म एउटा यस्तो प्रेम कहानीमा जोडी भई काम गरेका छन् । जुन रिलिज हुने क्रममा रहेको छ ।