भ्रष्टाचारीलाई कारवाही गर्ने नै घुसमा लिप्त
घुस लिन तीनकुनेमा ‘अखडा’ नै खडा
काठमाडौं । ‘जो अगुवा उही बाटो….’ भन्ने नेपाली उखानलाई चरितार्थ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिनु परेको छ । भ्रष्टाचार भएको थाहा भएमा वा उजुरी परेमा त्यस्ता व्यक्तिलाई कानून अनुसार कारवाही गरेर भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने दायित्व लिएका आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाइदिने शर्तमा एउटा पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको घटना सार्वजनिक भएपछि उनले शुक्रबार पदबाट राजीनामा दिनु परेको हो ।
घुस लिएको भिडियो सहितको प्रमाण सार्वजनिक भएपछि पाठकविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महाअभियोग लगाएर हटाउने तयारी गरेको थियो । तर, महाअभियोग नलाग्दै उनले राजीनामा दिएर महाअभियोगबाट बचेका छन् । भ्रष्टाचार गरेबापत उनलाई कानुनी कारबाही हुन्छ हुँदैन, त्यो सवैको चासोको विषय भएको छ ।
कांग्रेसको कोटाबाट अख्तियारको आयुक्त बनेका उनी निकै लोभी रहेको उनका सहकर्मीहरु बताउँछन् । अरुलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल हाल्ने जिम्मेवारी पाएका पाठकले पैसाका लागि एकै हजार पाए पनि नछाड्ने गरेको बताइएको छ ।
शान्तिनगरमा बस्दै आएका आयुक्त पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ नै खडा गरेको खुलासा भएको छ । पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यहाँ राखेर विभिन्न पक्षसँग मोलमोलाई गर्ने र रकम उठाउने गरेको स्रोतको दावी छ ।
पाठकको जुन भिडियो सार्वजनिक भएपछि उनीमाथि भ्रष्टाचारको आरोप लाग्यो, उक्त घटना डेढ वर्षअघिको भएको बताइएको छ । यो घटना सार्वजनिक भएर आफूहरूकै नैतिकतामाथि प्रश्न उठ्ने देखेपछि बल्ल नेताहरूले महाभियोग लगाउनेसम्मको अभिव्यक्ति दिन थालेको बताइएको छ ।
कर्तुत सार्वजनिक भएपछि पाठकले राजीनामा दिएर उम्कने प्रयासमा छन् । तर, भ्रष्टाचार जस्तो जघन्य विषयमा महाअभियोग वा राजीनामालाई भ्रष्टाचारी उम्कने बाटो बन्न दिन नहुने आवाज चौतर्फी रुपमा उठिसकेको छ ।
महोत्तरीमा जन्मेका पाठक हाल शान्तिनगर, काठमाडौंमा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका उनी अख्तियारमा जानुअघिसम्म नजराना लिने सरकारी वकिलका रुपमा परिचित थिए ।
०३९ सालमा शाखा अधिकृतबाट करिअर सुरु गरेका उनी ०४९ सालमा उपन्यायाधिवक्ता बने । ०५४ सालमा सहन्यायाधिवक्तामा बढुवा भए भने ०६६ सालमा नायब महान्यायाधिवक्तामा बढुवा भए । ०७१ सालमा पाठकलाई आयुक्त बनाउन तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पनि सहयोग गरेको बताइएको छ । तर पाठकको तामझम र भ्रष्ट प्रवृत्तिले केही समयदेखि नै कार्की उनीसँग टाढिदै गएको स्रोतको दावी छ ।
किन लिए आयुक्त पाठकले घुस ?
नेपाल इन्जिनियरिङ कलेजको डेढ अर्ब रुपैयाँको सम्पति हडप्ने विषयमा संचालकहरुको विचमा लामो समयदेखि विवाद हुँदै आएको थियो । प्रति व्यक्ति पाँच लाखका दरले पैसा उठाएर ३५ लाख रुपैयाँमा कलेज स्थापना गरिएको थियो । ९ असोज २०५१ मा त्रिभुवन विश्वविद्यालयबाट कलेजले सम्बन्धन पाएको थियो भने यो कलेज अहिले पोखरा विश्वविद्यालयको सम्बन्धनमा छ ।
कलेज संचालकहरु लामो समयदेखि दुई गुटमा छन् । प्रा. दीपक भट्टराई र हरिप्रसाद पाण्डे एक ठाउँमा छन् । लम्बोदर न्यौपाने, इन्जिनियर लवराज भट्टराई, डा. रामरत्न उपाध्याय, सूर्यबहादुर केसी र डा. उपेन्द्र गौतम अर्को गुटमा छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा कलेजको नाममा ३६ रोपनी जग्गा छ । यस बाहेक तत्कालीन चाँगुनारायण गाविसले १५ पुस २०५६ मा एक सय ७४ रोपनी जग्गा कलेजलाई भोगचलन गर्न दिएको थियो । कलेजका सञ्चालक प्रा. भट्टराई २०५१ देखि २०६७ सम्म प्रिन्सिपल थिए । उनले कलेजको जग्गा र शेयर आफ्नो बनाउन अनेक प्रयास गरेका थिए ।
कलेजमा सात सदस्य मध्य केहीले पैसा हाल्न नसकेका कारण संचालक भट्टराईले स्थापना कालमा १३ लाख लगानी गरेका थिए । १४ भदौ २०७१ मा भट्टराईले यो वापत ९७ लाख ५० हजार भुक्तानी लिइसकेका छन् । अहिलेसम्म उनले ५२ प्रतिशत शेयर आफ्नै भएको दाबी गर्दै आएका छन् ।
कलेज कसको भन्ने विषयमा देखिएको विवाद संसदीय समितिसम्म आइपुगेको थियो । समितिले २५ पुस २०७५ मा दिएको प्रतिवेदनमा कलेज सामाजिक सस्थाको रुपमा संचालन हुँदै आएको प्रतिवेदन दिएको छ । समितिले १५ दिनभित्र पोखरा विश्वविद्यालयका डिनको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गर्न समेत निर्देशन दिएको थियो । समितिले दिएको निर्देशन विपरीत कलेज संचालकहरु अहिले पनि कलेज आफ्नो नाममा पार्ने काममा लागिरहेका छन् ।
गैरसरकारी संस्थाको रुपमा दर्ता भएर संचालन गरिएको कलेजलाई तत्कालीन कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले २७ बैशाख २०७५ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेका थिए । सम्पत्ति भाग लगाउन सञ्चालक समितिका सदस्यले कलेजलाई प्रालिमा लैजान सहमति जनाएका थिए । यसविरुद्ध सञ्चालक हरिप्रसाद पाण्डे र सलिल भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका थिए । उक्त मुद्दामा अख्तियारका आयुक्त पाठकले पटक पटक गरेर घुस लिंदै आएका थिए ।