शवको मुचुल्का उठाइँदैछ मुचुल्का उठाएपछि काठमाडौ ल्याउने

काठमाडौं-   नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौँ ल्याउँदैछ ।

बिहीबार बिहान तीन जनाको शव घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याएपछि अहिले मुचुल्का उठाइँदैछ । मुचुल्का उठाएपछि अनुकुल मौसम हेरेर सात वटै शव काठमाडौं ल्याइने नेपाली सेनाले जनाएको छ ।

तत्कालै शव ल्याउन भने मौसम खराव रहेको बताइएको छ ।

यसअघि बिहान प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहित नेपाली सेनाको हेलिकप्टर ती शव लिन गएको थियो ।

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो ।

त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि बिहीबार बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन गएको थियो ।

बुधबार सुकेटार विमानस्थल ल्याइएका चारवटा शवमा मन्त्री अधिकारीको शव पनि थियो । प्रजिअ भण्डारीले अन्य शव चिन्न सक्ने अवस्थामा नभए पनि मन्त्री अधिकारीको शव भने चिन्न सक्ने अवस्थामा छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार दिउँसो ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।

सात वटै शव काठमाडौंमा ल्याएपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ