सडकदेखि सदनसम्म पशुपति
युवासंघलाई भय भयो, लुट्न सके लुट गीत माथि गयो
हाम्रो गाउँको एउटा भाइ स्थायी शिक्षकमा लड्यो
स्थायी शिक्षक हुन्छु भनी पढ्नसम्म पढ्यो
बल्ल्तल्ल नाम निकाल्यो, ऐले जागिर खान्छ
त्यसकै छोरो पढ्न फेरि बोर्डिङ तिर जान्छ
लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरू देशमा पाइँदैन नेपालमै हो छुट
कुनै पनि विषयले त्यतिबेला महत्व पाउँछ जतिबेला त्यसले विवादको सामना गर्न थाल्छ । यो साता लोकप्रिय गायक पशुपति शर्माको यो गीतले विवादको सामना गर्दै चर्चा बटुल्यो । यो गीतलाई नेकपाको भातृसंगठन युवा संघ नेपालले आपत्ति नजनाएको भए त्यति चर्चा पाउने थिएन ।
डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ
बिरामी जाँच्न फेरि क्लिनिक तिर तान्छ
हाम्रो गाउँको अर्को भाइले सुब्बामा जागिर खायो
दुई वर्षमै घर ठड्यायो काँबाट पैसो आयो
लुट्न सके लुट कान्छा…
युवा संघले विज्ञप्ति नै निकालेर पशुपतिका सबै गीतलाई बहिष्कार गर्न आब्हान मात्र गरेन युट्यूबबाट गीत नहटाए जे पनि हुन सक्ने धम्कीसमेत दियो । अहिलेको समयमा लोकगायनमा सबैभन्दा चर्चामा रहेका पशुपतिका लाखौं प्mयानले किन छोड्थे गीत सुन्न र शेयर गर्न झन् खोजी खोजी हेरे, सुने र सबैका माझमा पु¥याए ।
गणतन्त्र ल्याएम् भन्छन् फालेम् भन्छन् राजा
त्यहीँ फालेका राजा जस्ता कयौं निस्के आज
जनताको मुटु भित्र काँडा कति कति
डेढ अर्बको हेलिकोप्टर चढ्छीन् राष्ट्रपति
लुट्न सके लुट कान्छा..
यो गीतमा विपक्षी बनेका नेकपाका केही नेता कार्यकर्ताले आपत्ति जनाएको यस अन्तरा अन्तर्गत राष्ट्रपति शब्दको भाव परेको छ । आलंकारिक राष्ट्रपतिलाई यसरी मुछ्ने धृष्टता गर्न हुँदैनथ्यो भन्ने तर्क झ्वाट्ट सुन्दा ठिकै लागे पनि यो र यस्तै सिर्जनाको अर्थमा त्यति तार्किक हुँदैन ।
वाइडबडी जहाज किनेअरे लुट्नसम्म लुटे
सुनकाण्ड काँ पुग्यो ऐले जेलमै छन् कि छुटे
ठूलै नेता भ्रष्टाचारी न डराउँछन् लुक्छन्
कार्यकर्ता केही बुझ्दैनन् कुकुर जस्तै भुक्छन्
लुट्न सके लुट कान्छा..
युवा संघले आपत्ति जनाएको अर्को शब्द यो अन्तरामा रहेको कुकुर शब्द पनि हो । वास्तवमा पशुपतिले यसमा कार्यकर्तालाई बिचरा भन्न खोजेका हुन् । कतिपय बिचराहरूलाई नेताको स्वार्थ थाहा छैन त्यत्तिकै पछि लागेर उनको पक्षमा बोलिरहेका छन् भन्ने तात्पर्यमा यो भावलक्षणा आएको हो । गीतमा प्रयोग हुने अलंकार र लक्षणा त्यो गीतका गहना हुन् । यसलाई अर्थको अनर्थ लगाउनु नकारात्मक सोच हो र अनेकार्थमा लगे पनि भाव बुझेर मनन गर्न सक्नु सकारात्मक सोच हो ।
हजुरबा नि यसै मरे, बाऊ नि यसै मर्छन्
हाम्रो पनि त्यहीँ हो गति विकास कहिले गर्छन्
गर्नी काम केही होइन ठूला ठूला भाषण
स्वर्गजस्तो देशमा हजुर यमराजको शासन
लुट्न सके लुट कान्छा…
यमराजको शासन भन्दा तर्सिने अहिलेका सत्ताधारीका समर्थकहरूलाई देखेर उदेक लाग्यो । पशुपतिले बाजेको पालादेखिका कुरा गरेका छन् यिनीहरूको बहुमतको शासन बल्ल चलेको छ तर तर्सिनु पर्ने कारण के ? कि पुरै गीत नसुनी हचुवाकै भरमा तर्सिएका हुन् त ? त्यसो भए पनि गल्ति नभए पनि गल्ति ।
सडकतिर त्यस्तै जात्रा ट्राफिकलाइट छैन
ट्राफिकपुलिस सिठ्ठी फुक्छ कोहीले सुन्नी होइन
त्यति जाबो ट्राफिकलाइटलाई कति लाग्छ खर्च
आफै बुझ्नु पर्ने हो कि हाम्ले भन्नु पर्छ
लुट्न सके लुट कान्छा…
ठेक्दारले नि टेण्डर पार्छ लिन्छ ठेक्का पट्टा
झनै बिजोग पार्छ छोड्छ काम भ्याउनुको सट्टा
यता गयो लुटेकै छन् लुट्छन् उता गयो
सबजनालाई लुट्नै पर्छ भन्ने मात्र भयो
लुट्न सके लुट कान्छा…
ड्याङडुङ गर्ने हल्ला गर्ने ठूला मान्छे बन्छन्
तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन्
अब गर्न छोड्दे भाइ आदर्शको खेती
केही न केही त बुझिस् होला भनेपछि यति
लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरू देशमा पाइँदैन नेपालमै हो छुट कान्छा नेपालमै हो छुट
गीत सुनाइमा मेरो गल्ति छैन भने पशुपति शर्माको यो साताको चर्चित र विवादित गीत यहीँ हो । यो गीतको शब्द संयोजन मध्यम खालको छ भन्न मिल्छ । यो गीतमा राज्य चुकेका, केही शासक र केही प्रशासकले लुटेका अझै मार्मिक कुराहरू अटाएका छैनन् । निर्मला पन्तको हत्या प्रकरणजस्तो जघन्यअपराधको विषय अटाएको छैन । किन अटाएन ? उनका फ्यानले सोध्नुपर्ने हो तर यो विवादमै सीमित रहेर सोध्न बिर्सिए । गायक शर्माको व्यस्तता लोकप्रिय लोकगायकका हैसियतमा लोभलाग्दो छ त्यसैले राजनीतिको गहिराई बुझ्ने समय मिलेन वा चासो भएन होला । मलाई जापान पनि यहीँ मलाई बेलायत पनि यहीँ जस्तै पहिले पहिलेका केही गीतमा जस्तो यो गीतमा उनको हैसियत जति ओज पुगेको छैन । यो गीतलाई मार्मिक बनाउन अझ सशक्त ढङ्गले प्रस्तुत हुनु पथ्र्यो । भिडियो निर्माणमा पनि कम मेहनत परेको देखिन्छ । हतारमा बनेको आभाष हुन्छ । यो गीत सर्वसाधारणले बुझ्ने भाषामा लेखिएको छ त्यो उनको फरक खुबी हो ।
लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरू देशमा पाइँदैन, नेपालमै हो छुट भन्ने गीतको स्थायी लवजलाई नकारात्मक सोच भनिएको छ तर गायक शर्माले गीतको शुरुमै यो व्यंग्यात्मक गीत भएकाले अन्यथा नलिन अनुरोध गरेको कुरालाई पनि बिर्सन मिल्दैन । एउटा सर्जकले कहिले जनचेतनाका गीत लेख्न सक्छ, कहिले मायाप्रीतिका त कहिले हाँस्ने हँसाउने र रुने रुवाउने । सधैँ एकै खाले सिर्जनाको अपेक्षा गर्नु हुँदैन । यो गीत नकारात्मक पनि छैन । यसलाई सकारात्मक दृष्टिकोणले बुझ्ने हो भने गायक शर्माले यो गीतमार्फत दिएको चुनौतिलाई मत्थर पार्न सकारात्मक काम गरेर देखाउनोस् अनि त यो गीत स्वतः सकारात्मक सोचको नतिजा हुनेछ ।
यो गीतले उब्जाएका केही तरंग अचम्म लाग्दा छन् । पहिलो तरंग युवा संघ नेपालको भयभित विज्ञप्ति । दोस्रो तरंग संसदमा सत्तापक्ष र प्रतिपक्षबीचको रोइलो । यो गीतले अहिले सत्तापक्ष तर्सिदा प्रतिपक्ष मस्केको देखियो । वास्तवमा यो गीतले दुवै पक्षलाई ठूलो रनभुल्लमा पार्दै राजनीतिक संस्कारबाट चुकाएको छ । नेपाली काँग्रेसले आपूmलाई यो गीतको दोषबाट मुक्त देख्नु झन् ठूलो भूल हो । काँग्रेसकै पालाबाट शुरु भएको विकृति, विसंगति र भ्रष्टाचारको निरन्तरता पनि जोडिएको छ गीतमा । गीतले वर्तमान नेकपा सरकारलाई मात्र लक्षित गरेको देख्ने दृष्टिदोषमा नेकपाको झण्डा प्रयोग भएको भनिएको छ । वास्तवमा सानो ठम्याइले त्यो झण्डा देखिन्न । त्यसो नभनेको भए त्यो झण्डा ठम्याएर हेर्नेको संख्यामा केही नेता कार्यकर्ता बाहेक अरू हुने थिएनन् ।
गायक शर्माको केही गल्ति भएको भए नेकपाको मात्र झण्डा प्रयोग हुनुलाई लिन मिल्छ । काम गर्ने क्रममा सानोतिनो गल्ति जस्को पनि हुन सक्छ । तर त्यसकै लागि सर्वाधिक लोकप्रिय ठानिएका लोकगायकलाई हतारको विज्ञप्तिमार्फत धम्कीपूर्ण भाषामा तर्साउनु उचित थिएन । यसमा विचार र विश्लेषण गर्दै जाँदा युवा संघलाई पनि आपूmले प्रयोग गरेका केही शब्दसँग पछुतो भएको छ ।
गायक शर्माले पनि युवा संघको धम्कीले आत्तिएर होला हतारमा युट्यूबबाट भिडियो डिलिट गर्दै विज्ञप्ति निकालेको देखिन्छ । लाखौं फ्यान भएका लोकप्रिय गायक शर्माले अतास र हतारमा जे गरे तत्काललाई राहत भए होला तर अब त्यसलाई नेकपाको झण्डा निकालेर अरू जस्ताको त्यस्तै राखे पनि फरक पर्दैन । किनकि अरूले राखिसकेका छन् । शर्माको च्यानलबाट नहेरे पनि अरूको च्यानलबाट सोही गीत जस्ताको त्यस्तै हेर्न मिल्ने भएपछि उनले हटाउनुको अर्थ सकियो । अब युवा संघले पनि यसको विरोध गर्नुको अर्थ सकिएको छ । किनकि युवा संघकै कारणले यो गीतले अनपेक्षित चर्चा पायो । नसोचेकै नतिजा हात लाग्यो र अब त यो गीत डान्सपार्टीको गीत हुन सक्छ ।
ढिलै भए पनि सकारात्मक दृष्टिकोण राख्ने हो भने युवा संघको विज्ञप्तिलाई तत्काल नराम्रो मानिए पनि यसले केही आशालाग्दा कुरा अघि सारेको छ । नकारात्मक प्रबत्तिका सिर्जना गर्न सोच्नु पर्ने भएको छ । निश्चय पनि सबै सर्जक एकै खालका छैनन् र हुँदैनन् । सबै सिर्जनाको स्तर पनि एकनासको हुँदैन । सिर्जना गर्ने नाममा जस्तोसुकै गर्ने स्वतन्त्रतामा औंलो ठड्याउने जिम्मेवारी कस्को हो भन्ने कुरा राज्यले एकिन गर्न सक्नुपथ्र्यो र पर्छ त्यसो हुन नसक्दा सिर्जनाभित्र पनि विकृति र विसङ्गतीको कमी छैन । त्यसलाई पहिचान गर्ने र सेन्सरसिप लागू गर्ने व्यवस्था हुनु जरुरी छ । युट्यूबमा जे हाले पनि हुन्छ भनेर जस्तासुकै भिडियो हाल्ने, अर्कै कार्यक्रमको नामभित्र फरक खालको भिडियो हाल्ने । एउटाको अधिकार भएको भिडियो कपी पेष्ट गरेर आफ्नो नाममा हाल्नेलाई साइबर कानुन अन्तर्गत कार्वाही गर्ने बलियो संयन्त्र हुनु पर्छ । फेसबुकमा पनि कसैको चरित्रहत्या गर्ने प्रबृत्तिलाई निरुत्साहित पारिनु पर्छ । साथै, यी र यस्तै अन्य डिजिटल प्रविधिका सामाजिक सञ्जाललाई दुरुपयोग होइन सदुपयोग गर्ने गरौं भन्ने जनचेतनामूलक अभियान पनि चलाउनु पर्छ ।
सडकदेखि सदनसम्म बहस र चर्चाको विषय बनेको पशुपति शर्माको यो गीतभन्दा धेरै कडा रूपमा राज्यसत्तालाई प्रहार गरेका गीत, कविता र अन्य सिर्जना कति छन् कति । सकारात्मक सोचका लागि सिर्जना भएका रचनात्मक कार्यको दोहोलो काढ्ने सत्तापक्ष र त्यसमा मस्किने प्रतिपक्षले मिलेर राम्रा सिर्जनाको संरक्षण, अर्थहीन, बेकम्मा र नाजायज सिर्जना र प्रस्तुतिलाई निरुत्साहित गर्ने सिष्टम बसाल्नु महत्वपूर्ण हुन्छ । पछि काँग्रेसको सरकार बन्यो र राष्ट्रपति पनि काँग्रेसकै महिला नेतृ बनिन् भने शर्माको यो गीत त्यतिबेला पनि घन्किरहेकै हुनेछ । त्यसैले विपक्षीलाई खुच्चिङ गर्नुभन्दा सही र गलतको समयोचित मूल्यांंकन गर्दै राम्रो राजनीतिक संस्कारको विकास गर्दै जानु काँग्रेसको हितमा छ । नेकपा पनि बहुमतको मातमा मात्तिनु हुँदैन । भनिन्छ नि दुःखमा आत्तिनु र सुखमा मात्तिनु हुँदैन ।