कार्यक्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारले सात वर्ष सम्म पारिश्रमिक पाउने
काठमाडौं– कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई सरकारले सात वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने भएको छ ।
सोमबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित वीरगति प्राप्त गरेका सैनिक परिवारको एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले यस्तो बताएका हुन् ।
उनले भने, कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई ७ वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्थासहित सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गरिएको छ् ।
गत असार २० गते बसेको मन्त्रिपरिषद बैठकले संशोधन गरेको नियमावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिक जवानको एक तह स्वतः बढुवा गर्ने व्यवस्था पनि गरेको छ ।
त्यसैगरी सैनिक जंगी कार्वाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परी अशक्त भएका सैनिकलाई एक तह बढुवा गर्ने व्यवस्थाका साथै वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा सैनिकका छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।