गुल्मीको राजनीतिक ईतिहास

को को थिए पुराना नेताहरु ?

गुल्मी । ६९औं प्रजातन्त्र दिवस मनाईरहँदा गुल्मीका पुराना राजनीतिकर्मीहरुको लेखाजोखा नै भएन । सिडिओ, एलडिओहरुको विवरण भित्तामा अहिले पनि पढन पाईन्छ । तर आज सम्मको परिवर्तन ल्याउन आन्दोलनमा होमिएका नेता र जनप्रतिनिधीहरु गुमराहमा परेका छन् । यस्तो अवस्थामा हामीले गुल्मीका दुई ठुला पार्टीका पुराना नेता मध्येका नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाट कमलराज श्रेष्ठ र नेपाली कांग्रेसबाट पुर्व पार्टी सभापति सुरेशचन्द्र भ्ुसाल संग सोधेका थियौं ।
सुरेश भुसालः नेपाली कांग्रेस
मेरो घर हालको मुसिकोट नगरपालिका वडा नम्वर १ पौदीअमराईको अरेवामा हो । म गाउँमा सानै छँदा बुढापाकाहरुसंग गुल्मीमा नेपाली कांग्रेसको गतिविधी बिक्रम सम्वत् १९९६ बाटै सुरु भएको भन्ने सुनेको हुँ । तथापी २०१५ साल देखि पार्टी पद्धती सुरु भएको थियो । म २०२७ साल देखि गाउँको स्कुलमा पढ्दा खेरी नेवि संघमा आबद्ध भएको हुँ ।


पार्टी सदस्यता २०३१ सालमा लिएर त्यहाँ देखि निरन्तर अहिले सम्म पार्टी काममा सक्रिय छु । म सम्पन्न परिवारको छोरा थिएँ । प्रशस्त सम्पत्ती थियो । अहिले प्रजातन्त्र आएको पनि ६९ बर्ष भई सकेछ । संयोग मेरो उमेर पनि ठ्याक्कै ६९ बर्ष भयो । यहि प्रजातन्त्रका लागि लड्दै आएको मेरो अहिले सम्पत्ती सकिदै छ र उपभोग गर्न पाउने अवस्था पनि छैन ।
२०३६ सालको जनमत संग्रहको आन्दोलनमा म साविक बडागाउँ, मुसिकोट, पौदीअमराई र पारी बाग्ल्ुङ्गको ग्वालीचौर सहित ८ वटा गाउँपञ्चायत् सम्मको नेतृत्व गरेर सक्रिय भएको थिएँ । २०३८ सालको चुनाव बहिस्कारको आन्दोलनमा पनि सक्रिय भईयो । त्यति बेला अर्घाखाँची पनि गुल्मी नै थियो । जिल्ला पार्टीमा पहिलो पार्टी सभापति काशीनाथ गौतम, दोश्रो निलाम्वर पन्थी हुनुहुन्थ्यो । त्यस पछि भार्सेका पदमलाल पुन, उहाँ सगै पदमपाणी पन्थी हुनुहुन्थ्यो ।
मलाई विद्यार्थीताका प्रशिक्षण दिन आउँदा जिल्ला नेताका रुपमा तम्घासकी ईश्वरा देवि थापा पनि आउनु भएको थियो । म भन्दा पुराना मेरै गाउँ अरेवाका वालानन्द घिमिरे हुनुहुन्थ्यो । पहिलो पुस्ताका सबै सभापतिको कार्यकाल त म बुझ्न पाएको छैन । तर मैले जाने बुझेका जिल्ला नेताहरु अहिले दाङ्गमा बसाई सराई गर्नु भएको छ । उहाँ त्यति बेलाका सक्रिय जिल्ला नेता ह्ुनुहुन्थ्यो ।
श्रृंगाका यज्ञमुर्ती कँडेल, मरभु्ङ्गका डिल्लीराम अर्याल, खज्र्याङ्गका भागवत ज्ञवाली, रवि ज्ञवाली, शम्शेरबहादुर खत्री, कवि दलबहादुर महत, भार्सेका पदमलाल पुन, नयाँगाउँका, जयप्रताप मल्ल, रुपाकोटका प्रेमराज भण्डारी, पिताम्वर भण्डारी, अर्खलेका पदमपाणी पन्थी, रामनाथ आचार्य, विश्वनाथ आचार्य, श्रृङ्गाका हरि कँडेल, लोकनाथ कँडेल अरेवाकै टोपबहादुर रायमाझी, जनार्दन आचार्य, बालकृष्ण अर्याल, जितबहादुर बोहरा, झकबहादुर पुन लगायत पहिलो पुस्ताका त्यस्ता तमाम जिल्ला नेताहरु हुनुहुन्थ्यो । सबैको नाम मैले हेक्का राख्न सकिन । ती सबै गुल्मी कांग्रेसका खम्वा नेता हुनुहुन्थ्यो ।
दोश्रो पु्स्ताका पार्टी सभापति मध्ये पहिलो भागवत ज्ञवाली हुनुहुन्थ्यो । दोश्रो रुद्रमणी शर्मा भण्डारी । तेश्रो त्रैलोक्यप्रताप सेन, त्यस पछि म आफै । म पछि चन्द्र केसी र अहिले भुवनप्रसाद श्रेष्ठ हुनुहुन्छ । प्रजातन्त्रका लागि यति लड्यौं । जनताले खान, लगाउन, शिक्षा स्वास्थ्य सबै सुविधा पाउनु पर्छ भन्दै लडेका हाम्रो राज्य र पार्टी कतैबाट मुल्याङ्कन हुन सकेन ।
हाम्रो तथ्याङ्क समेत कतै छैन । म निवेदन गर्दछु कि न कांग्रेसको सरकारले ग¥यो । न अहिलेको कम्युनिष्टको सरकारले वास्ता गरेको छ । जुनसुकै पार्टीका पुराना कार्यकर्ताको संरक्षण हुनु प¥यो । हामी जस्ता थुप्रै कार्यकर्ता विरामी हुँदा उपचार पाउने अवस्था समेत छैन ।
कमलराज श्रेष्ठ ः नेकपा
मेरो घर साविकको थानापति गाविस थोर्गा हो । म बुझेर कम्युनिष्टमा लागेको होईन । उति बेला गाउँमा स्कुल नभएर वनारसमा पढ्न गएको बेला पुष्पलालहरुले सदस्यता दिनु भएको हो । त्यति बेलाको गुल्मी अर्घाखाँचीको नेता पराल्मीका चिन्तामणी पोखरेल हुनुहुन्थ्यो । पछि उहाँका भाई केशरमणि पोखरेल हुनु भयो । उहाँ लामो समय सम्म नेता रहनु भयो । २०३० को दशक सम्म उहाँ लुम्विनी अञ्चलकै नेता रहनु भएको थियो ।


उहाँहरु संगै पहिलो पुस्ताका नेताहरु वम्घाका शिद्धिनाथ ज्ञवाली, थानापति हरेवाका जिवराज आश्रित, एकदेव ज्ञवाली, भड्कुवाका युवराज ज्ञवाली जो अहिले दाङ्गबाट पनि केन्द्रिय तह सम्म पुग्नु भएको छ । पहिलो पुस्ताका अरु सबै नेताहरुको नाम लिन भने रेकर्ड नहेरी भन्न सक्दिन ।
गुल्मीमा कम्युनिष्ट विचारधाराको वहस ल्याउने पहिलो ब्यक्ति भने बलेटक्सार चौताराका प्रयागलाल श्रेष्ठ हुनुहुन्थ्यो । तर उहाँ कहिल्यै कम्युनिष्ट हुनु भएन । दोश्रो पुस्ताका नेताका रुपमा र उमेरका हिसावले पनि म आफु, निलकण्ठ गौतम, वस्तुका स्वर्गिय टोमलाल पाण्डे., हाल खैरेनी बस्ने वम्घाकै पुर्णबहादुर राना, खड्गकोटका रामनाथ ढकाल, टिकाराम ढकाल, नयाँगाउँका वोमबहादुर खड्का , जैसीथोकका टंक पोखरेल, दिगामका स्वर्गिय कोशल पोखरेल, वामीका खड्ग केसी लगायत हुनुहुन्छ ।
सबैको नाम अहिले स्मरण गर्न सकिन । दोश्रो पुस्ताका रुपमा गुल्मीबाट केन्द्रिय राजनीतिको हस्तीका रुपमा प्रदिपकुमार ज्ञवाली उदाउनु भयो । त्यसको केहि बर्ष पछि गोकर्णराज बिष्ट पनि केन्द्रिय राजनीतिमा चम्कीनु भयो । अहिलेका अन्य तमाम युवा नेताहरु एकसेएक क्षमतावान हुनुहुन्छ । हाम्रो पालामा त धेरै पढ्न पाईएन ।
२०२८ सालमा जेल परियो । २०३० साल तिर असाध्यै पिडा दिने गरी प्रहरीको यातनामा परियो । त्यस पछि पनि पटक पटक जेलनेल र यातना भोगेको हो । २०७४ साल पुस ३ गतेका दिनको घटना त सबैलाई थाहै छ । दिगामको बहखोर भन्ने स्थानको स्कुलमा कांग्रेसका सयौ कार्याकर्ताले घेरा हालेर मलाई लाठी, मुड्की, छुरा तरवार के केले हानेर म मरी सकेको मान्छे बाँचेको हुँ । खास गरी म संघर्षले नेता भएको हुँ ।
अहिले दुई ठुला पार्टी एक भएकोमा असाध्यै खुशी छौं, यो एकताले छिटो पुर्णता पाओस् । सरकार पहिलो बर्ष ब्यवस्थापनमा लाग्यो । अब जनताको अपेक्षा पुरा गर्ने छ , विकासले गति लिने छ ।

प्रजातन्त्र दिवसमा विपीलाई सम्झे उनका कान्छा पण्डितले
कुनै समय कान्छा पण्डितका नामले गुल्मी जिल्ला देखि विपी, सुवर्ण सम्शेर, मोहन सम्शेर सम्मले चिन्ने र नजिक बनाउने पात्रको नागरिकताको नाम हो गुल्मी उपल्लो तम्घासका ९८ बर्षिया बृद्ध फर्शुराम पन्थी ।


मंगलवार ६९ औं प्रजातन्त्र दिवसको अवसरमा उनै पन्थीले पहिला विपी अर्थात विश्वेश्वरप्रसाद कोईरालालाई सम्झीदै भने–‘२०१६ सालमा उहाँ राजा महेन्द्र संग तम्घास आउनु भएको थियो । तल बजारमा राजा महेन्द्रलाई अतिथी गृहमा छाडेर यो उकालोमा पर्ने मेरो घरमा बास बस्न विपी आउनु भएको थियो ।’
विपीको जनप्रेम र मिठो बोली भाषा अझै कानमा गुञ्जिने गरेको बताउँदै उनले भने–‘राणा फालेर प्रजातन्त्र ल्याउने नेता उहाँ नै हो ।’ पन्थी विपीका मात्र नजिकका पात्र थिएनन्, स्ुर्वण सम्शेर, मोहन सम्शेर,काँशीनाथ गौतम लगायत उति बेलाका शिर्ष नेताहरुको समेत नजिकको पात्र भएको उनि बताउँछन् । २०१५ सालको चु्नाव नजिकबाट नियालेका उनले सुवर्ण सम्शेर, काँशिनाथ गौतम, निलम्वर पन्थीले साविक गुल्मी अर्घाखाँची एउटै जिल्ला हुँदा चुनाव जितेको स्मरण गर्छन् ।
कार्यकर्ताका रुपमा त म सधै सक्रिय हुन सकिन तर म धेरै पटक सु्वर्ण सम्शेर र मोहन सम्शेरले बोलाएर काठमाण्डौ पुग्थे , वेद–पुराण सुनाउँथे– उनले थपे–‘ उहाँहरु लगायतले ठुलो संघर्ष गरेर ल्याएको प्रजातन्त्र रहिरहोस्, सबै दलले राम्रो गरुँन् । जसले राम्रो गर्छ उनैलाई जनताले मन पराउने छन् ।’ २००७ साल देखि काग्रेस मान्दै आए पनि आफु कहिल्लै नेता बन्न नचोहको उनको भनाई छ ।
सय बर्षको संघारमा पुस्तक लेखनमा पन्थी
यस अघि धार्मिक स्थान रेसुङ्गाको बारेमा एउटा पुस्तक लेखी सकेका उनै पन्थीले यति बेला सय बर्ष उमेरको संघारमा आई पुग्दा अर्को पुस्तक लेख्नमा व्यस्त छन् । उनका माईला छोरा कृष्णप्रसाद पन्थी भन्छन् –‘अहिले बु्वा काठमाण्डौमा हामी संगै हुनुहुन्छ ।
सय बर्ष पुग्न दुुई बर्ष मात्र बाँकी छ यस्तो अवस्थामा पनि फेरी अर्को पुस्तक लेखनमा ब्यस्त हुनुहु्न्छ । ’ आँखा देख्न सक्नु हुन्छ ? भन्ने प्रश्नमा पिता पन्थीले भने अलि अलि देख्छु देख्न नसक्दा छोराहरुले सघाउँछन् । उनको ईच्छा सय बर्षको पुग्ने अवसरमा उक्त पुस्तक सार्वजनिक गर्नु रहेको छ ।