क्षमता भन्दा दोब्बर यात्रु राख्दा जीप दुर्घटना !
मृत्यु हुने ११ जनाकै सनाखत
दार्चुला । दार्चुलामा शुक्रबार राति भएको जिप दुर्घटनामा ११ को मृत्यु भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नं को जिप तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा दुर्घटना भएको थियो । दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए । मृत्यु हुने सवैको सनाखत भइसकेको छ । मृत्यु हुने मध्ये नौ दार्चुला र दुई यात्रु बैतडीका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम,वडा नं २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनका १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, सोही ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् ।
यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर पु¥याउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिएका छन् ।
गम्भीर घाइते भएका जिप चालक दीपकसिंह धामीको भारतको पिथौरागढमा उपचार भइरहेको बताइएको छ । उनको टाउको र खुट्टामा चोट लागेको स्वास्थ्य सहायक डम्मरदत्त भट्टले बताएका छन् । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एकको मृत्यु भएको थियो । पहिरो गएको क्षेत्रमै जिप दुर्घटना भएको हो । जिप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो ।
पाँच सिट क्षमता भएको जिपमा क्षमताभन्दा बढी अर्थात ११ यात्रु र सामान भएका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ । पहिरोले सडक साँघुरो भएको उकालो सडकमा रातिको समयमा जिप चलाउँदा दुर्घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् । दार्चुला–तिङ्कर सडकमा गत वर्षदेखि जिल्ला यातायात व्यवस्थापन समितिले राति जिप सञ्चालनमा रोकसमेत लगाएको थियो । विगतमा राताकाठा क्षेत्रमा जिप सञ्चालनमा रोकसमेत लगाइएको हो । साघुरो बाटो र ट्याक्टरका कारण सडक खाल्डाखुल्डी छन् ।
जिप दुर्घटनाका सबै मृतकहरुको शव जिल्ला अस्पतालमा ल्याएर परीक्षण शुरु भएको बताइएकोछ । अस्पतालमा आफन्तहरुको भीड लागेको छ भने रुवासासी चलेको छ । यो वर्षकै ठूलो जिप दुर्घटनाका कारण जिल्ला शोकमा डुबेको छ ।