धार्मिक आवरणमा पूर्वराजाको राजनीतिक यात्रा
काठमाडौं । माघ १३ गतेदेखि दमकस्थित आफ्नै चियावगान ‘हिमालयन टि गार्डेन’मा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अब केही दिनमा मध्यतराई पस्ने भएका छन् । शाहले मध्यतराईका जिल्लाको भ्रमणमा फागुन २२ गतेबाट शुरु गर्ने उनको सचिवालयले जनाएको छ ।
हिन्दु राज्य र राजतन्त्रको माग गर्दै राप्रपाले मेची–महाकाली यात्रा गरिरहेका बेला भएको ज्ञानेन्द्रको जिल्ला दौडाहालाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजाको धार्मिक यात्रा भनिएपनि विभिन्न स्थानमा आयोजना गरिने कार्यक्रममा सहभागी हुने बुझिएको छ । पछिल्ला केही वर्षदेखि पूर्वराजा धार्मिक यात्राका नाममा देशदौडाहामा निस्किरहेका छन् । उनले राजनीतिक भेटघाट गर्नुका साथै आफूप्रति जनचाहना कस्तो छ भन्ने बुझ्न भ्रमण गरिरहेको बुझिएको छ ।
जिल्ला भ्रमणपछि पूर्वराजाले दमकमै बोलाएर राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । उनले कसकसलाई भेट्दैछन् भन्ने एकिन नभएपनि राप्रपा, मधेशवादी दल र केही स्वतन्त्र राजनीतिज्ञ तथा वुद्धिजीवीहरुसँग भेटघाट गर्ने बुझिएको छ । अघिल्लो वर्ष दमक वसाइका क्रममा उनले तीनवटै राप्रपाका तेस्रो तहका नेतासंग भेट गरी हिन्दुधर्म र राजसंस्थाप्रति लगाव भएका राजनीतिक दल एकढिक्का भएर हिन्दुराज्यको पक्षमा लाग्न सुझाव दिएका थिए ।
पुसको पहिलो साता पोखरा बसाईमा पनि पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका अध्यक्ष कमल थापालगायतसँग भेट गरेर हिन्दु धर्म र राजतन्त्र समर्थकलाई संगै लिएर हिड्न सुझाव दिएका थिए ।
धनुषाको जनकपुरबाट शुरु हुने ज्ञानेन्द्रको मध्यतराईको यात्राका क्रममा २२ गते जनकपुरमा बसेर राजनीतिक भेटघाट गर्ने र २३ गते सिराहा जाने बताइएको छ । सडक मार्गबाटै विभिन्न जिल्लाको भ्रमण गर्ने पूर्वराजाले तराईका विभिन्न धार्मिक मठमन्दिर दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
२४ गते पुनः जनकपुर फर्केर त्यही बस्ने र २५ गते उदयपुरमा विभिन्न धार्मिक कार्यक्रममा सहभागी भएपछि २६ गते सप्तरीको राजविराज पुगेर सोही दिन दमक जाने बताइएको छ । दमकमा केही दिन आराम गरेर अन्य जिल्लाको भ्रमणमा निस्किने पनि बताइएको छ । पुर्वरानी कोमल काठमाडौ रहेकोले ज्ञानेन्द्र एक्लै भ्रमणमा निस्कन लागेको बताइएको छ । उनको साथमा निजी सचिव सागर तिमल्सिना, निजी सहयोगी सुदन थापा, निजी सुरक्षाकर्मी शसस्त्रका डिएसपी शिव रावतलगायतको सहभागिता रहने र कारगेटसहित करिब आधा दर्जन सवारी साधन प्रयोग हुने बताइएको छ ।