पोखराबाट उदाएका आशाका किरण ताप्लेजुङमा अस्ताए
काठमाडौं । २०२६ वैशाख २२ गते कास्कीको भरतपोखरीमा उदाएका रविन्द्र अधिकारी २०७५ फागुन १५ गते ताप्लेजुङमा अस्ताए । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१०, सिस्नेभीर दाह्रेढुंगामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री अधिकारीको पोखरामा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित उनका अंगरक्षक अर्जुन घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसीको निधन भएको थियो ।
आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिएका रविन्द्र २०६४ र २०७० को संविधान सभा निर्वाचनमा र २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा गरी तीनपटक केन्द्रीय जनप्रतिनिधिका रूपमा निर्वाचित भएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएपछि अधिकारीले धेरै रचनात्मक काम गरेका थिए ।
पर्यटनमन्त्रीको पद सम्हालेकै दिनमा मन्त्री अधिकारीले सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने र नेपालमा १५ लाख पर्यटक भित्र्याउने योजना बनाएका थिए । केही समयपछि मन्त्री अधिकारीले १५ लाखको लक्ष्यमा चित्त नबुझाई यसलाई संशोधन गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य र रणनीति सार्वजनिक गरेका थिए । सन् २०१५ मै सन् २०१८ लाई पर्यटन वर्ष मनाउने र १५ लाख पर्यटक भित्र्याउने निर्णय भएपनि संक्रमणकालीन सरकारका पर्यटनमन्त्रीले यसमा चासो दिएका थिएनन् । तर, मन्त्री पद सम्हालेकै दिनमा मन्त्री अधिकारीले सन् २०२० लाई पर्यटन वर्ष मनाउने निर्णय गरि काम अघि बढाएका थिए ।
सन् २०१८ को ११ महिनामै १० लाख पर्यटक भित्रिएपछि मन्त्री अधिकारीले उत्सवकै रुपमा १० लाखको केक’ समेत काटेका थिए । त्यसैबेला उनले २०२० मा जसरी पनि २० लाख पर्यटक भित्र्याउने घोषणा गरेका थिए । मन्त्री अधिकारीकै पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम भएको थियो भने रोकिएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजहरु नेपाल भित्र्याएर नयाँ गन्तब्यमा सेवा सुरु गराएका थिए ।
वाइडवडीको रकम भुक्तानीमा मन्त्री अधिकारीले अनियमितता गरेको आरोप लागेको थियो । प्रतिनिधिसभाको विकास समितिले गठन गरेको छानविन समितिले उनलाई दोषी देखाएपनि पुष्टि भने भइसकेको थिएन । तर प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘वाइडबडी उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो । तर, पनि नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्न निर्दोषलाई दोषी देखाइन्छ । त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।’
वाइडबडीबारे मन्त्री अधिकारीलाई आरोप लगाउनु दुःखद भएको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘मलाई दुःख लाग्छ कि उहाँ जस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले त्यस प्रकारले आरोप र लाञ्छनाहरु लगाउने र अपमान गर्ने काम पनि भयो ।’
मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधारण काम गरेको ओलीले बताए । तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैँले हेरेर आउने भनेर मन्त्री अधिकारी त्यसतर्फ गएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले ढिलोमा तीन बर्षभित्र त्यो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘हिजो वहाँ बर्लिन (जर्मनी)तर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो कि म्यूनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एयरपोर्ट ह्याण्डिलिङ बनाउने योजना थियो ।’ अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताए ।
मन्त्री अधिकारीकै पहलमा भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याउन द्रुतरुपमा काम भईरहेको थियो भने पछिल्लो समयमा पर्यटनमा स्याटेलाइट एकाउन्टिङ सिस्टम लागू गर्न जोड दिएका थिए । पर्यटन बोर्डले जडान गर्न लागेको यो सिस्टमले पर्यटन क्षेत्रको वस्तुपरक तथ्यांक संकलन गर्ने अधिकारीको अपेक्षा थियो । हाल कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत छ । सन् २०२० मा त्यसलाई १० प्रतिशत पु¥याउने लक्ष्य भेट्टाउने सपना मन्त्री अधिकारीको थियो ।
मन्त्री अधिकारीकै पहलमा दुई दर्जन आन्तरिक उडानलाई राती पनि संचालनमा ल्याइएको थियो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल द्रुतरुपमा बनाउन र भैरहवा विमानस्थल निर्माण सम्पन्न गर्न मन्त्री अधिकारी अहोरात्र खटिरहेका थिए । मन्त्री अधिकारी नेपालका प्राकृतिक एवं धार्मिक पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी नेपालमा पर्यटकको संख्या बढाउन निरन्तर कृयाशील थिए । काठमाडौं विमानस्थललाई २२ घण्टा संचालानमा ल्याउन पहल गरेका थिए ।
मन्त्री अधिकारीले पद सम्हाल्ने बेलामा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण रोकिने अवस्थामा थियो । एसियाली विकास बैंक ऋण नदिने भनेर हिँड्न लागेको थियो । सहायक ठेकेदारहरुका पनि समस्या नै समस्या थिए । मन्त्री अधिकारीले काम गर्न सक्दिनँ भनिरहेको ठेकेदारको टिम नै परिवर्तन गरेर एडिबीलाई मनाउनु भयो । छ महिनामा भैरहवाको रनवे बनाई एघार महिनापछि भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो । अधिकारीले देखेको सपना त पुरा हुँदैछ तर उनी आफैले भने देख्न पाएनन् ।
मन्त्री अधिकारीले २०२० अघि नै त्रिभुवन विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउन कृयाशील थिए भने पोखरा अन्तर्राष्ट्रिय विमास्थलको काम पनि अगाडि बढाइरहेका थिए । अन्तर्राष्ट्रिय उडानमा नेपाली यात्रु र विदेशी यात्रुबीचको असमानता हटाएका थिए । ब्यागेज खोल्ने, चोर्ने र हवाई दुर्घटनामा पर्दा क्षतिपूर्तिस्वरूप पाउने रकम विदेशीलाई भन्दा नेपालीलाई ८ गुणा कम थियो । मन्त्री अधिकारीकै पहलमा नेपाली यात्रु अन्तर्राष्ट्रिय यात्रु समान भएका छन् । २० वर्ष अघि पारित हुनुपर्ने मोन्ट्रियल कन्भेन्सन २ मन्त्री अधिकारीकै पालामा पारित भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय विमान आउने एउटा मात्र बाटो सिमरा थियो । मन्त्री अधिकारीकै पहलमा चार वटा बाटा थप गरिदै छ । हवाई उडानमा सिमरासँगै भैरहवा, जनकपुर, महेन्द्रनगरको बाटो खोल्न अधिकारीले ठूलो भूमिका खेलेका थिए ।
सबै प्रदेशको राजधानीमा हवाई सेवा पुगेपनि कर्णालीको राजधानी सुर्खेत जोडिएको थिएन । अधिकारीले मन्त्री भएलगत्तै सुर्खेतमा नियमित सेवा सञ्चालन गराएका थिए । बन्द रहेको राजविराज एयरपोर्ट कालोपत्रे गरेर टर्मिनल सञ्चालनमा ल्याएर जहाज चलाउन सुरु भएको थियो भने खोटाङको थामखर्क विमानस्थल कालोपत्रे सकेर मन्त्री अधिकारीले हालै उद्घाटन गरेका थिए । उनकै पहलमा धनगढी विमानस्थल रात्रीकालीन उडान गर्न सक्ने अवस्थामा छ । भैरहवा, नेपालगञ्ज विराटनगर, जनकपुर र चन्द्रगढीमा राती ४० सिटमाथिका ठूला जहाज जान थालेका छन् । कर्णालीमा चार्टर जहाजमात्रै जाने ठाउँमा नियमित उडान भइरहेको छ ।
अन्तर्राष्ट्रिय सेवाको टिकेटका लागि पूर्ण रूपमा अटोमेसनका लागि पहल पनि मन्त्री अधिकारीकै देन हो । अब टिकेटमा कसैले लुट्न सक्दैन । टिकेट सहुलियत रूपमा दिन पूर्णतः रोक लगाइएको छ ।
मन्त्री अधिकारीकै पहलमा जापानसँग एयर सर्भिस एग्रिमेन्ट भएको छ । यो सँगै पहिला ओसाकामा मात्र उडान अनुमति भएपनि अब हामी टोकियो र अरु ठाउँमा जान सक्नेछौँ । नेपाल अन्तर्राष्ट्रिय उडानमा महत्वपूर्ण आइकाओको खतराको सूचीमा थियो । खतराको सूचीबाट हटाएर सुधार अवार्ड ल्याउन अहोरात्र खट्ने मन्त्री अधिकारीको निधनले नेपालको उड्डयन तथा पर्यटन क्षेत्रको एक नक्षत्रलाई गुमाएको छ । जहिल्यै घाटामा गइरहेको वायुसेवा निगमलाई कम्पनीमा लैजानेबारे पनि मन्त्री अधिकारीले बहस चलाइरहेका थिए ।
निजगढ विमानस्थलको वातावरणीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरी मोडालिटी टुंगो लगाउने काम, ग्राउण्ड क्लियरेन्सका लागि मुआब्जा वितरण अगाडि बढाउने काम भइरहेको थियो । नेपालगञ्ज र जनकपुरबाट भारत उडानको अनुमति लिने कामदेखि चीनतर्फ उडानको कुराको पहल मन्त्री अधिकारीले गरेका थिए । पाइलट उत्पादनका लागि फ्लाइङ स्कूलको काम अगाडि बढाएका अधिकारीले त्यसका लागि तालिम केन्द्र निर्माणको योजना अगाडि सारेका थिए ।
नेपालमा पर्यटन विश्वविद्यालयको योजना समेत अघि सारेका थिए । टुरिजम र होटल म्यानेजमेन्टको (नाथम) कलेजलाई समेत विश्वविद्यालय बनाउने तयारी उनले गरेका थिए ।
संस्कृति तर्फ समय तोकेर पुनर्निर्माण भइरहेको थियो । स्वयम्भू, हनुमानढोकाको गद्दी बैठक पुनर्निर्माण सम्पन्न भएको छ । पाटन कृष्ण मन्दिर र चाँगुनारायण, मनकामना मन्दिर निर्माण सम्पन्न भएको छ । सरकारले ४ करोड दिँदा आफैं रकम हालेर १७ करोडमा मनकामना मन्दिर पुनर्निर्माण भएको छ । मन्त्री अधिकारीकै पालामा करिब ९७ सम्पदा पुनः निर्माण भएका छन् । पर्यटन वर्ष २०२० का लागि भारत र चीनको पर्यटन मन्त्रालयस्तरमा बैठक भएर सहमति भएको छ । मन्त्री अधिकारीकै पहलमा रिसोर्ट निर्माण, होटल क्षेत्रमा लगानी बढेका छन् भने होटलको वर्गिकरण गर्ने काम समेत भएको छ ।
सातवटै प्रदेशमा पर्यटक बढाउने योजना, पशुपतिमा सरसफाई, मगन्ते फ्री बनाउने काम समेत भएका छन् । मन्त्री अधिकारीकै पहलमा ट्रेकिङ र माउन्टनियरिङको फेक रेस्कु गर्नेलाई कारबाहीको दायरामा ल्याईएको छ । छोटो समयमै मुुलुकको पर्यटन र उड्डयन क्षेत्रमा काँचुली फेरिदै गईरहेको बेला मन्त्री अधिकारीको निधन हुनु सिंगो मुलुकका लागि दुर्भाग्य हो ।
अधिकारीको निधनले देशले एक होनहार, सिर्जनशील तथा विकासपे्रमी नेता गुमाएको छ । अधिकारीको विद्यार्थी आन्दोलन, वाम आन्दोलन र विकासको यात्रामा अमूल्य योगदान रहेको थियो । समृद्घ नेपाल निर्माणका लागि मन्त्री अधिकारीले छोटो समयमै सुधारका कामहरु गरेर पहिचान मात्र बनाएनन्, तिनलाई तिव्रता दिएर जनमनमा विकासप्रेमी नेताको रुपमा स्थान बनाईरहेका थिए ।
उर्जाशील नेता अधिकारीको पहलमा कास्कीको विकास निर्माण उत्साहजनक रुपमा अघि बढिरहेको थियो । पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा, बेगनास, रूपालगायत ताल तलैयाको संरक्षण, सरसफाइ, पोखरा फराकिलो बनाउने, पुल निर्माण गर्ने, पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसलगायतका शैक्षिक संस्थाको निर्माण एवं विकास आदिमा उनले उल्लेख्य भूमिका खेलेका छन् ।
मिलनसार र भद्र छबिका अधिकारी विद्यार्थी आन्दोलनबाटै स्थापित भएका यूवा नेता थिए । विद्यालय अवस्थादेखि नै अनेरास्ववियु, रेडक्रस जस्ता सङ्गठन एवं सङ्घसंस्थामा क्रियाशील अधिकारी सानैदेखि राजनीतिमा चासो राख्थे । विसं २०४४ मा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, विसं २०४५ मा पृथ्वीनारायण क्याम्पस स्ववियु सदस्य, विसं २०४५ मा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, विसं २०४७ मा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य बनेका अधिकारी विसं २०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।
विसं २०५३ मा स्ववियु काउन्सिल नेपालको संयोजक बनेका अधिकारी २०५६ मा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए । त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका अधिकारी पञ्चायतकालीन समयमा नै प्रजातन्त्र पुनस्र्थापनाका लागि अत्यन्त क्रियाशील थिए । अधिकारी विसं ०४६ को जनआन्दोलनताका नै पटकपटक गरी छ महिना जेल र हिरासतमा बसेका थिए ।
पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्दा नै अधिकारीले क्याम्पस भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माणका साथै शैक्षिक वातावरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप, शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने सन्दर्भमा धेरै काम गरेका थिए । शिक्षामा भएको निजीकरण र व्यापारीकरण, प्राविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षा जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियानको नेतृत्व गरेका थिए ।
लक्ष्मणपुर बाँधको विरोध तथा तत्कालीन शाहज्यादा पारस शाहको ज्यादतीविरुद्धको आन्दोलनका साथै ५ लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने, यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियत जस्ता धेरै आन्दोलनको अगुवाइ अधिकारीले गरेका थिए । विसं २०४५ मा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेका अधिकारी विसं २०३९ मा नै पार्टीको रेडगार्ड अर्गनाइजेसनमा सङ्गठित बनेका थिए ।
विसं २०४० मा इलाका पार्टी कमिटीमा, विसं २०४६ र ०४७ मा पोखरा नगर कमिटी र विसं २०४८ मा पार्टी जिल्ला कमिटीमा रही पार्टी काम गरेका अधिकारी त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय भएका थिए । विसं २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव बनेका अधिकारी ०६३ मा पुनः सचिवमा निर्वाचित भएका थिए । विसं ०६२÷६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमनविरुद्धको आन्दोलनमा पटकपटक गरी पाँच महिना जेल बसेका थिए ।
प्रतिनिधिसभाको विकास समितिको सभापतिका रुपमा कुशलतापूर्वक जिम्मेवारी सम्हालेका अधिकारीले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाइल्याण्ड, भियतनाम, इटाली, श्रीलङ्का, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रिका, अल्जेरिया, कम्बोडिया, नर्वेलगायतका देशको भ्रमण गरेका थिए ।
अधिकारीका संविधानसभा, लोकतन्त्र र पुनसंरचना तथा समृद्ध नेपाल पुस्तक प्रकाशित छन् । नेपाली राजनीतिमा उदाउँदो नक्षत्रका रुपमा रहेका अधिकारीको ४९ वर्षको अल्पायुमै निधन भएको छ । अधिकारीका बुबा आमा, श्रीमती र दुई छोरा छन् ।