बढ्यो पेन्सन, हटेन टेन्सन

त्रिपक्षीय सहमति लत्याइएको छ : कुष्णकुमार राई, अध्यक्ष (गेसो)

काठमाडौं । बेलायत सरकारले पूर्वगोर्खा सैनिक र तिनका परिवारको पेन्सन वृद्धि गर्ने घोषणा गरेको छ । बेलायती सरकारका आम्र्ड फोसेस मन्त्री मार्क लंकास्टरले उक्त घोषणा गरेको बेलायती सरकारको वेबसाइट जीओभी डट युकेमा उल्लेख छ ।
सन् २००७ अगाडि गोर्खा ब्रिगेडमा भर्ना भएका २२ हजार सैनिकहरु बेलायती घोषणाबाट लाभान्वित हुनेछन् । यो घोषणासँगै अब बेलायती गोर्खा सैनिकको पेन्सन प्याकेजमा १५ मिलियन पाउण्ड अर्थात् २ अर्ब १९ करोड वृद्धि भएको छ । ‘बढेको पारिश्रमिक व्यक्तिगत परिस्थितिअन्तर्गत भए पनि पूर्वगोर्खाहरुले पाउने पेन्सनमा ३४ प्रतिशत वृद्धि हुनेछ’, उक्त वेबसाइटमा भनिएको छ, ‘यो बढाइले गोर्खा पेन्सनरहरुले ४६ मिलियन पाउण्ड स्टर्लिङ अर्थात् करिब ६ अर्ब ७० करोड बढी नेपाली रुपैयाँ यो आर्थिक वर्षमा पाउनेछन् ।’
पेन्सनवृद्धिसँगै बेलायती रक्षा मन्त्रालयले बिहीबार नै नयाँ २५ मिलियन अर्थात् नेपाली ३ अर्ब ६० करोड बराबरको लगानी घोषणा समेत गरेको छ । यस्तो घोषणा आगामी १० वर्षसम्मका लागि नेपाल बस्ने पूर्वगोर्खाहरुको उपचार खर्चस्वरुप भएको मन्त्रालयले जनाएको छ । यो सहयोग रकम गोर्खा वेलफेयर ट्रस्टमार्फत प्रदान गरिनेछ । यसले च्यारिटीको रुपमा नेपाल बस्ने पूर्वगोर्खाहरुलाई सहयोग गर्नेछ । यसले विभिन्न समयमा क्षेत्रगत स्वास्थ्य सुविधालाई समेत समेट्ने बेलायतले जनाएको छ ।
बिहीबारको बेलायती घोषणा मन्त्री लंकास्टरको नेपाल भ्रमणलगत्तै आएको हो । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसामु गोर्खासम्बन्धी वार्षिक प्रतिवेदन समेत पेस गरेका थिए । भ्रमणकै दौडानमा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत भेटवार्ता गरेका थिए । सो क्रममा बेलायत र नेपालबीचको सम्बन्धमा गोर्खाहरुको महत्व उच्च रहेको दुवै देशले स्वीकारेका थिए । सो क्रममा गोर्खासँग सम्बन्धित धेरै विषयमा छलफल भएको जनाउँदै नेपाल र बेलायतबीच आर्थिक लगानी र सहयोगबारे पनि महत्वपूर्ण छलफल भएको बेलायतले जनाएको छ ।
त्यस्तै नेपालमा बेलायती सहयोग नियोग संस्था डीएफआईडीले सहयोग गरेको नेपालमा इँट्टा उद्योगमा सामाजिक अवस्था सुधार प्रदूषण घटाउने कार्यमा समेत प्रगति भइरहेको वेबसाइटमा उल्लेख छ । बेलायतको यस्तो घोषणाले नेपाल बस्ने गोर्खाहरुको जीवनमा समेत महत्वपूर्ण परिवर्तन आउने मन्त्री लंकास्टरले बताएका छन् ।
आन्दोलनरत भूपू गोर्खाहरुले भने पेन्सन वृद्धिको निर्णयप्रति सन्तुष्टि जनाएका छैनन् । आफूहरुले पूर्ण समानताका लागि आन्दोलन गरेको तर बेलायत सरकारले अलिकति पेन्सन बढाएर ललिपप देखाउन खोजेको उनीहरुले बताएका छन् ।
गोर्खा भुतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कुष्णकुमार राईले बेलायत सरकार, नेपाली दूतावास र गोर्खाबीच भएको त्रिपक्षीय सहमति लत्याएर एकतर्फीरुपमा गरिएको यो घोषणा आपूmहरुलाई मञ्जुर नभएको बताएका छन् । उनले आफ्नो आन्दोलन जारी रहने बताएका छन् । उनले गेसोले चाँडै पत्रकार सम्मेलन गरेर ‘निर्णायक’ आन्दोलनको घोषणा गर्ने पनि बताएका छन् । भूपू गोर्खाहरुले बेलायती भूपू सैनिकसरह नै पेन्सन र अन्य सुविधा माग गर्दै आएका छन् ।