प्रियंकाले अन्डरवेयर देखाउँदा विद्यार्थी लाजले भुतुक्कै
छात्राहरुलाई महिनावारीका बेला अपनाउनुपर्ने सरसफाइलगायतको चेतना फैल्याउन नायिका प्रियंका कार्की तराईका विभिन्न जिल्लाका विद्यालयहरुमा पुगेकी छिन् । केही समयअघि मात्र प्रियंका र आयुष्मान देशराज जोशीलाई खानेपानी मन्त्रालयले ‘महिनावारी स्वच्छता दूत’ घोषणा गरेपछि उनीहरु विभिन्न जिल्लामा पुगेर जनचेतना फैल्याउनमा लागेका छन् ।
महिनावारी हुँदाको अप्ठ्यारो र त्यसलाई सुल्झाउने उपाय सुनाउँदै नायिका कार्कीले सेनिटरी प्याड कसरी लगाउने, किन लगाउने भन्ने कुराको समेत जानकारी दिएकी छिन् ।
पूर्व–पश्चिम राजमार्गबाट साढे तीन किलोमिटर दुरीमा रहेको हरिपुर निगाहपुर माविमा अभिनेता आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले स्थापना गरेको ‘आयंका फाउन्डेशन’ले महिलामैत्री शौचालय समेत निर्माण गरिदिएको छ । खासगरी मासिकश्राव भएको बेला महिलाहरुले पुरुषसँग शौचालय साझेदार गर्न नसक्ने भएकाले उनीहरुलाई छुट्टै शौचालय बनाइएको बताइएको छ ।
शौचालय निर्माणसँगै प्रियंका र आयुष्मानले महिनावारी सम्बन्धी जनचेतनामूलक अभियान अगाडि बढाएका छन् । यसै अन्तर्गत उनीहरुले छात्राहरुलाई सेनिटरी प्याड वितरण गरेका थिए । पुन प्रयोग गर्न मिल्ने र सहज रुपमा विसर्जन गर्न सकिने यस्ता प्याड बर्षभरका लागि हुने उनीहरुले बताएका छन् ।
सो विद्यालयका छात्राहरुलाई एउटा एउटा थैलो बाँडिएको थियो । थैलोमा केही थान प्याड, दुई वटा भित्री बस्त्र, सावुन, रुमाल आदि राखिएको थियो । यस किसिमको सेनिटरी प्याड किटलाई कसरी जतनसाथ प्रयोग गर्ने भन्ने पनि प्रियंकाले सिकाइन् ।
यसैगरी धनुषाकै जनता मावि र आधारभूत माविमा पनि आयंका फाउन्डेसनले महिनावरी सम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । ति सबै विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरिसकेका थिए भने छात्राहरुलाई सेनिटरी प्याड वितरण गरिएको थियो । शौचालय निर्माणका लागि पञ्चकन्या ग्रुपले सहयोग गरेको थियो भने प्याड वितरणका लागि केजीएच ग्रुपको सहयोग थियो ।
आयंका फाउन्डेनले आयोजना गरेको महिनावारी सम्बन्धी जनचेतना फैलाउने कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थिति हुँदै आएको छ ।
प्रियंकाले थैलोबाट भित्री बस्त्र (अन्डरवेयर) निकालेर देखाउँदा त्यहाँ रहेका छात्राहरु लाजले भुतुक्कै भएर घोप्टेमुन्टो लगाएका थिए भने छात्रहरु गललल हाँसेका थिए । शिक्षक र अभिभावकहरु पनि मुसुमुसु हाँस्दै बसेका थिए ।
प्रियकाले ‘तपाईंहरुमध्ये क–कसलाई महिनावारी सुरु भइसकेको छ ? हात उठाउनुहोस् त ।’ भन्दा कोही बोलेनन्, कसैले हात उठाएनन् ।
त्यसपछि उनले थैलोबाट सेनिटरी प्याड निकालेर देखाउँदै भित्री बस्त्रमा राखेर प्रयोग गर्न सकिने जानकारी दिइन् । उनले त्यसलाई एक पटक होइन, सफा गरेर पटक–पटक प्रयोग गर्न सकिने जानकारी दिइन् ।
उनले भनिन् ‘महिनावारी प्राकृतिक कुरा हो । महिनावारी भएपछि नै गर्भ रहन्छ । गर्भ रहेपछि नै सन्तान जन्मन्छ । सन्तान जन्मिएपछि नै सृष्टि चल्छ । महिनावारी हुनु भनेको सृष्टिको एउटा प्रक्रिया पो हो त ! महिनावारी हुँदा किन लजाउने ?’
उनले थपिन् ‘हामी छात्रा वा महिलाहरुको महिनापिच्छे महिनावारी हुन्छ । यतिबेला रगत बग्छ । यस्तो बेला हामीलाई विद्यालय आउन लाज लाग्छ, असहज लाग्छ । त्यसैगरी महिनावारी भएको बेला धेरैजसोले थाङ्नाको प्याड बनाएर लगाउँछन् । राम्ररी धुँदैनन् । घाममा सुकाउन पनि लजाउँछन्, अरुले देख्छ भनेर । महिनावारी हुँदा किन लजाउने ?’
उनले महिनावारीलाई ‘लाजको विषय’ ठान्न नहुने र खुलेर कुराकानी गर्नुपर्ने बताइन् । जसले गर्दा महिलाहरु यौनाङ्ग एवं प्रजनन रोगको शिकार हुनबाट वच्न सकिने बताइन् । उनले महिनावारीको समयमा यौनाङ्गको सफाईदेखि सेनिटरी प्याडको प्रयोगमा सावधानी अपनाउनुपर्ने पनि बताइन् ।
कार्यक्रममा आयुष्मानले पनि महिनावारी भन्नासाथ महिलाहरु आफै लजाउन नहुने भन्दै यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।
यस्ता जनचेतनामूलक कार्यक्रमहरु अन्य जिल्लामा पनि गर्दै जाने फाउन्डेशनले जनाएको छ ।