कमलपोखरी चोकमा शनिबार बिहान निजी कार र मिनी ट्रकबीच गम्भीर दुर्घटना

काठमाडौं-  काठमाडौंको कमलपोखरी चोकमा शनिबार बिहान निजी कार र मिनी ट्रकबीच गम्भीर दुर्घटना भएको छ ।

शनिबार बिहान करीव साढे पाँच बजे गलत साइडबाट अनियन्त्रित रुपमा हुइँकिएर आएको निलो रंगको बा १३ च ८६६४ नम्बरको निजी कार बा ३ ख २३४२ नम्बरको मिनी ट्रकसँग ठोक्किएको हो ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनापछि निलो रंगको कारमा रहेका चालक फरार भएका थिए । ‘कार अनियन्त्रित रुपमा डिल्लीबजार चारखाल अड्डाबाट हुँइकिदै आयो ।

चोकमा आएपछि गलत साइडबाट ज्ञनेश्वरतिर जान खोज्यो’, नजिक चियापसलमा चिया पिउँदै गरेका एकजना प्रत्यक्षदर्शीले भने, नक्सालबाट आउँदै गरेको मिनी ट्रक आफ्नो साइडबाट ज्ञानेश्वरतिर जाँदै थियो । कार मिनी ट्रकमा गएर ठोक्कियो ।’

दुर्घटना हुनेवित्तिकै कारलाई छाडेर चालक फरार भएका थिए । प्रत्यक्षदर्शीका अनुसार कारका चालकले मदिरा पिएर आएको हुन सक्ने बताएका छन् । कारबाट भाग्ने क्रममा ती चालक सकुशल बाहिर निस्किएका थिए । तर, मदिराका कारण हल्लिएको जनाइएको छ ।

दुर्घटनापछि मिनी ट्रक नजिकै रहेको बिजुलीको पोलमा गएर ठोक्किएको छ । मिनी ट्रकका चालक घाइते भएको महानगरीय ट्राफिक प्रहरी रामशाहपथले जनाएको छ ।

कारको अगाडिको भागपूर्ण रुपले क्षति भएको छ । दुर्घटना भएको सूचना पाउनेवित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो ।

कारका फरार चालकलाई प्रहरीले खोजी शुरु गरेको छ । प्रहरी स्रोतका अनुसार शुक्रबार रातभरि मदिरा सेवन गरेर शनिबार बिहान घर जाने क्रममा दुर्घटना गराएको हुन सक्ने अनुमान छ ।

‘दुर्घटना भएपछि भाग्नुपर्ने अवस्था थिएन । प्रहरीको सम्पर्कमा आउनु पर्ने थियो’, महानगरीय ट्राफिक प्रहरीका एकजना जुनियर अधिकृतले भने, ‘दुर्घटना गराउने कारका चालकबारे केही आशंकाहरू जोडिएको छ । अनुसन्धान हुँदै छ । सीसी फुटेज हेर्दै छौँ । दोषीलाई कारबाही हुन्छ ।’