रंगशालाले लियो गति, चहलपहल बढ्यो यति
चितवन / यहाँ बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका कारण भरतपुर १६ को चहलपहल ह्वात्तै बढेको छ । फिल्डमा दैनिकजसो ३५–४० जना कामदार खटिएका छन् । कहिलेकाहीँ स्थानीयको श्रमदान चल्दा यो संख्या अझै बढ्छ । जिल्लावासी पनि के के हुँदैछ भनेर आउने–जाने क्रम बाक्लिएको छ । देशका विभिन्न ठाउँबाट रङ्गशाला बन्ने ठाऊँ र भएका गतिविधिको अवलोकन गर्न तथा जानकारी लिन आउनेको संख्या पनि बढ्दो छ । यस अवधिमा तेक्वान्दोका स्वर्णपदक विजेता अन्तर्राष्ट्रिय खेलाडी दीपक विष्ट, कराँते प्रशिक्षक दीपक श्रेष्ठ लगायतका खेलाडी, स्थानीय सामाजिक अभियन्ता, जनप्रतिनिधिहरू तथा अन्य तह र तप्काका मानिसहरूको आवत–जावतले यो क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ ।
यसै क्रममा फागुन २८ गते धुर्मुस–सुन्तलीको उपस्थितिमा रङ्गशालाका छिमेकी वडा १५ र १६ का वडा अध्यक्ष तथा बासिन्दाहरूसहितको अन्तरक्रिया कार्यक्रम भयो । वडाध्यक्षद्वय शम्भुबहादुर भण्डारी र चतुरमान गुरुङले आफ्नै वडा क्षेत्रमा बन्न लागेको रङ्गशालाको खुशी व्यक्त गर्न नसकिने तहको भएको र यो खुशीलाई योगदानमा लैजान पनि आपूmहरू आतुर रहेको धारणा राखे । व्यवसायी डा. तिलकचन्द्र भट्टराई, स्थानीय समाजसेवी इन्द्रबहादुर बस्नेत, मिनबहादुर बस्नेत, अर्जुन भुसाल, सज्जन बिष्ट, विष्णुबहादुर केसी र पूर्णचन्द्र सुवेदीले रङ्गशालावासी हुनुको मज्जा अहिले नै अनुभव गर्न पाएकोमा अपार खुशी लागेको बताए । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेले समृद्ध राष्ट्रनिर्माणको यो महाअभियानमा उर्जा, आशिर्वाद र साथ दिन अनुरोध गर्दै आफ्नै घरआँगनमा बन्न लागेको रङ्गशालामा स्थानीयको योगदानले बढी महत्व राख्ने बताएपछि स्थानीयहरू सहयोग संकलनमा जुटेका छन् ।
शनिवार शान्तिदीप एकता टोल विकास संस्थाले एउटा भेला राखि रङ्गशाला निर्माणको महाअभियानमा जुट्न ऐक्यबद्धता जाहेर गर्दै अर्को सातासम्म संस्थागत रूपमा पहिलो चरणको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । साथै, श्रमदान र अन्य जिन्सी सहयोग गर्न पनि तयार रहेको जनाएको छ । यस संस्थामा हालसम्म १०१ घरपरिवार आबद्ध छन् ।
फाउण्डेशनका तर्फबाट अर्जुन न्यौपाने र चन्द्र खड्का यतिबेला भौतिक संरचना तयारीका साथै स्थानीय टोल विकास संस्था र अन्य क्षेत्रका मानिससँग समन्वय र सहकार्यको वातावरण निर्माणमा व्यस्त छन् । रङ्गशाला निर्माणअवधिभरका लागि आवश्यक पर्ने भौतिक संरचना अन्तर्गत सुरक्षा पोष्ट निर्माणको कार्य पूर्ण भईसकेको छ । तीनतर्फको कम्पाउण्ड सकिएको छ । अस्थायी मूलगेट पनि बनिसकेको छ । छड् सिमेन्ट आदि राख्ने गोदामघर बनेका छन् । रङ्गशालाको कार्यमा खटिने कर्मचारीलाई खाने बस्ने अस्थायी आवास बन्दैछ । साइट अफिसको बाँकी काम पनि सकिदै छ । कामको चालू गति देखेका स्थानीय र आगन्तुकले निर्धारित समयमा रङ्गशाला निर्माण हुने विश्वास गरेका छन् ।
स्थानीय समाजसेवी बालकृष्ण चालिसेले रङ्गशालाबारे प्रतिक्रिया दिदै भने,–यो एकदमै राम्रो र खुशीको कुरा हो । हाम्रो घरनजिकै अन्तर्राष्ट्रिय रङ्गशाला छ भन्न पाउँदा गौरवको महसुस भएको छ । रङ्गशाला हामीलाई र अझ बढी हाम्रा सन्ततिलाई चाहिन्छ । सबैले मिलेर सहयोग गर्नुपर्छ । सक्दो सहयोग गर्न म पनि तयार छु । जनश्रमदान पनि गरेका छौं र गर्छौं । हामीले यो रङ्गशाला निर्माण अभियान सफल पार्न सकारात्मक भूमिका खेल्नु पर्छ भन्ने मेरो भावना छ । र सोही भावना अनुसार काम गर्ने प्रयास गर्नेछु ।
यस्तै, शान्तिदीप एकता टोल विकास संस्थाका सचिव बाबुराम भट्टराईले यो हामी सबैका लागि गौरवको विषय हो भने । जे सकिन्छ जति सकिन्छ सहयोग गरेर निर्धारित मितिमा सम्पन्न गर्ने वातावरण बनाउन पाए हामी सबैलाई राम्रो हुने थियो । आँटेर काम गरे जे पनि हुँदो रहेछ भन्ने कुराको प्रत्यक्ष अनुभूति गर्न पाइन्थ्यो उनले भने । चितवनको पहिलेको सदरमुकाम उपद्र्धनगढी, काठमाडौंको सिंहदरबार, सुर्खेतको काँक्रेबिहार लगायतमा बनेका भौतिक संरचना उसबेलामा त आँटका नमूना हुन् भने अहिलेको जस्तो सूचना प्रविधि र विज्ञानको युगमा हामीले धेरै गर्न सक्छौं जसका लागि आँट चाहिन्छ भन्ने कुराको पुष्टि गर्न यो पनि एउटा महत्वपूर्ण परियोजना हो । तसर्थ रङ्गशालाको नजिकको एक छिमेकी यस संस्थाले नै संस्थागत सहयोगको शुरुवात गर्दैछ ।