काभ्रेपलाञ्चोकमा विप्लव नेतृत्वको दुई कार्यकर्ता गिरफ्तार

काभ्रेपलाञ्चोक-  रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले जवाफी फायरिङ गरी दुई व्यक्तिलाई गिरफ्तारमा लिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीलाई लक्षित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहका कार्यकर्ताले गोली प्रहार गर्दा जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्ष रविराज खड्काले जानकारी दिए।

प्रहरी टोलीलक्षित गोली प्रहार हुँदा जवाफी फायरिङ मात्रै गरिएको हो, मानवीय क्षति/हताहती केही भएको छैन ।”, उनले बताए ।

जवाफी फायरिङपछि भाग्ने क्रममा माओवादीका दुई कार्यकर्ता गिरफ्तार गरी प्रहरी टोली फर्किएको प्रहरी उपरीक्षक खड्काले बताए। उनका अनुसार गिरफ्तार गरिएका व्यक्तिको पहिचान खुलाइएको छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले काफलडाँडाको स्थिति मङ्गलबार रातिदेखि नै सामान्य रहेको बताएका छन्  ।

सो स्थानमा केही दिनदेखि गतिविधि बढेको पाइएपछि सुराकीका आधारमा महाशाखाबाट प्रहरी टोली गएको र दुई जनालाई गिरफ्तार गरी फर्किएको हो, अहिले त्यहाँको स्थिति सामान्य छ ।