राजदूतमाथि किन भेदभाव ?
टिप्पणी
सरकारले कूटनीतिका बारेमा निर्णय गर्दा अन्तर्राष्ट्रिय मापदण्ड, प्रचलन र मान्यताको हेक्का नराखेको आरोप लागिरहेको छ । कूटनीतिक व्यवस्था बारेको भियना अभिसन्धि १९६१ मा राजदूतको वर्गिकरण गरेको पाइँदैन । यस्तै भारत, अमेरिका र चीनका लागि नेपाली राजदूतलाई मन्त्रीसरह मान्यता दिने कुरा पनि अन्तर्राष्ट्रिय प्रचलनविरुद्ध भएको देखिन्छ । सरकारले भारतका लागि नेपली राजदूत निलाम्वर आचार्य र अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीलाई मन्त्री सरहको सुविधा र सम्मान दिने निर्णय गरेपछि परराष्ट्र मन्त्रालयभित्र त्यसबारे असन्तुष्टि देखिन थालेको छ । एकै किसिमको काम गर्ने र उस्तैउस्तै जिम्मेवारी भएका व्यक्तिहरुलाई फरक–फरक व्यवहार गर्दा अरु राजदूतमा मनोवैज्ञानिक ढंगले हीनतावोध आउन सक्ने देखिन्छ ।
पुराना कूटनीतिज्ञले भनेझै कसैलाई अतिरिक्त सुविधा र सम्मान दिएर राख्दा जुन मुलुकमा पठाइएको हो, त्यहाँका सरकारमा समेत भ्रम उत्पन्न हुन सक्ने देखिन्छ । मुलुकलाई अतिरिक्त वोझ थपेर राजदूतहरुबीचमै भेदभाव गर्दा समस्या आउन सक्छ । चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले भने अतिरिक्त सुविधा पाएपनि अतिरिक्त अधिकार नपाइने भन्दै त्यस्तो सुविधा नलिने निर्णय गरेर भेदभाव गर्नु राम्रो होइन भन्ने सन्देश दिएका छन् ।
सामन्ती सोचको परिणामले त्यस्तो भेदभाव गरिएको भन्दै अमेरिकामा काम गरिसकेका नेपाली कूटनीतिज्ञले यसरी मन्त्रीसरह राजदूत बनाउने कुरा लज्जास्पद हो भनेका छन् । यस्तो मर्यादाको खासै अर्थ नरहने भन्दै उनले जुन देशमा खटाउने हो त्यो देशले को मन्त्री सरह वा को सहसचिव सरह भन्ने भेदभाव नराखी सबैलाई कूटनीतिज्ञकै व्यवहार गर्ने गरेको उनको बुझाइ छ ।
प्रधानमन्त्री भइसकेका मातृकाप्रसाद कोइरालालाई राजा महेन्द्रले अमेरिकाका लागि राजदूत बनाएर पठाएका थिए । यस्तै सम्वन्धित देशका समस्या, ऐतिहासिक सम्वन्ध र कूटनीतिको गरिमा हेरेर पुराना, परिपक्व र अध्ययनशील मानिएका भीमबहादुर पाँडे, यदुनाथ खनाल, भेषबहादुर थापा आदिलाई अमेरिका, चीन र भारत जस्ता देशमा राजदूत बनाएर पठाईएको थियो भने थोरै अनुभव भएका तर इमानदार कूटनीतिज्ञहरुलाई कम समस्या भएका मुलुकमा पठाइएको पाइन्छ । पुराना कूटनीतिज्ञहरुका अनुसार उनीहरुलाई विशेष राजदूत मानेर छुट्टै कूटनीतिक मानमर्यादा दिएको र अरुलाई होच्याउने व्यवहार विगतमा भएका थिएनन् । अनुभवी कूटनीतिज्ञले भनेझै राजदूतहरुलाई खुल्ला रुपमा क, ख, ग वर्गमा विभक्त गर्ने हो भने कूटनीतिज्ञहरुबीचमै असमानता, व्यवहार र प्रोटकलमा समस्या आउन सक्छ ।