कहिले आउला नेकपाको एकताले पूर्णता पाउने आकस्मिकता ?

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको ११ महिला लाग्दा पनि एकताले पूर्णता पाउन सकेको छैन । शीर्ष नेताहरुकै दाउपेचले एकीकरण अल्मलिएको देखिएको छ ।

पुष्पकमल दाहाल र केपी ओलीले एकीकरण प्रक्रियालाई अल्मल्याएको सो पार्टीका नेता÷कार्यकर्ताको आरोप छ ।
एकतामा भएको ढिलाइबारे पार्टीमा तिव्र असन्तुष्टि व्यक्त हुन थालेपछि फागुन ३० गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले वालुवाटारमा झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र पुष्पकमल दाहाललाई बोलाएर एकीकरण चाँडै टुंगो लगाउने बताएका थिए ।

तर प्रधानमन्त्रीले नै अड्काएका कारण प्रक्रिया अघि बढ्न नसकेको नेता झलनाथ खनालले बताएका छन् । एकतामा भएको ढिलाइले पार्टी विघटनको खतरा बढेको चेतावनी समेत दिएका छन् ।

एकीकरण ढिलो हुँदै जाँदा पार्टी विघटन वा विभाजनतिर जान सक्ने माधव नेपालको समेत आरोप छ । यस्तै वामदेव गौतम पनि पार्टी अध्यक्ष तथा प्रम ओलीसँग सन्तुष्ट देखिदैनन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले त स्पष्ट भाषामा ओली र दाहालले पार्टीलाई अनिर्णंयको बन्दी बनाएको आरोप लगाइसकेका छन् । सचिवालय सदस्य ईश्वर पोखरेल समेत अध्यक्षद्वयसँग रुष्ट देखिन्छन् ।
शीर्ष नेताहरुले अधिकार आफैंमा केन्द्रित गर्न चाहेको र सामूहिक नेतृत्व प्रणालीलाई बिर्संदै गएकाले एकता विलम्व भएको सदस्य अमृत बोहोराको तर्क छ । नेता बोहोराले भनेजस्तै नेकपाका शीर्ष नेताहरू पार्टीमा कसरी आफ्नो पकड कायम होला भन्ने हिसाबकिताब मिलाउनै केन्द्रित छन् ।

सुरुमा केन्द्रीय समिति र प्रदेश कमिटीमा आफ्ना पक्षधरको वर्चस्व बढाउन आन्तरिक रसाकस्सी गरेका उनीहरू अहिले जिल्ला तहको नेतृत्वका लागि आफू निकटलाई पार्ने संघर्षमा छन् ।

उता पार्टी अध्यक्ष ओलीले पार्टी एकीकरण आकस्मिक रुपमा भएको र एकीकरणको प्रक्रिया तल्लो तहसम्म पु¥याएर अघि बढ्ने कामपनि आकस्मिक रुपमा हुने बताएका छन् । चुनावी गठबन्धन र एकता घोषणा भएजसरी नै आकस्मिक रूपमा तल्लो तहमा एकता हुने ओलीको भनाइ थियो ।

पत्नीको उपचारका लागि अमेरिका गएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल नफर्किइ त्यो आकस्मिक रुपमा आउने सम्भावना देखिदैन । कम्तिमा दाहाल १० दिन अमेरिका बस्ने बताइएको छ । उनी आएको केही दिनमै एकीकरण भइहाल्छ भन्ने देखिदैन । तसर्थ यसले आउँदा दिनमा अरु जटिलता ल्याउन सक्ने सम्भावना दृष्टिगोचर हुँदै गएको छ ।
नेकपाभित्र अहिले मूलतः केपी ओली, पुष्पकमल दाहाल र माधव नेपालका समूह स्पष्ट देखिन्छन् भने उनीहरुसँग निकट रहेका नेताहरुका उपसमूह पनि छन् । दुई पार्टी मिलेकाले पूर्वएमाले र पूर्वमाओवादीको पृष्ठभूमिका दुइटा धार छँदैछ । त्यसभित्र पूर्वएमालेभित्र पनि केपी ओली र माधव नेपालको समूह ठूलो छ । यही धारभित्र झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेललगायतका नेताको उपसमूह पनि छ ।

त्यस्तै, पूर्वमाओवादीभित्र नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको उपसमूह पनि छ । त्यसैले कसको प्रतिनिधित्व कति, कसरी गर्ने भन्ने स्वार्थ एकता प्रक्रियामा जोडिएका छन् । केन्द्रीय समिति बनाउने बेलामा पूर्वएमाले र पूर्वमाओवादीका कति राख्ने भन्ने विवाद थियो । अहिले प्रदेश कमिटीमा आफू निकटका व्यक्ति कसलाई कसरी राख्ने भन्ने विवाद छर ।

जुन जिल्लाबाट भन्दा पनि केन्द्रीय नेताहरूबीच नै सुरु भएको छ । त्यसमा पनि कुन पक्षमा कार्यकर्तालाई कमिटीहरुमा जिम्मेवारी दिने भन्नेमा उनीहरुको विवाद छ ।
नेकपाको एकीकरण हुँदा दुई वर्षमा महाधिवेशन गर्ने भन्ने सहमति छ । यसअनुसार पार्टी अघि बढे अर्को वर्ष महाधिवेशन गर्नुपर्ने हुन्छ । अहिले बनाइने कमिटीहरू कस्ता हुन्छन्, त्यसका आधारमा महाधिवेशनको शक्तिसन्तुलन प्रभावित हुन सक्छ ।

त्यसैले अहिले कमिटी बनाउने बेलामै नेताहरूले आउने दिनमा आफ्नो आकांक्षा पूरा हुने गरी आप्mना मान्छेलाई कमिटीहरुमा ल्याउने होडबाजीले पनि एकता प्रक्रिया विलम्व भएको देखिन्छ भने एकताका लागि बनाइएको कार्यदल असफल हुनुमा पनि सोही कारण देखिन्छ ।

तल्लो तहसम्म एकता हुन नसक्नु मात्र होइन टुंगो लागेको केन्द्रीय समितिका नेतालाई पनि जिम्मेवारी बाँडिएको छैन । प्रदेशले पूर्णता पाएको छैन । जिल्ला र स्थानीय तहका कमिटी बनेका छैनन् । जनवर्गीय संगठन पनि एक हुन सकेका छैनन् ।

यसले गर्दा धेरै नेता कार्यकर्ता जिम्मेवारविहीन हुँदा पार्टीका गतिविधिले तीव्रता पाउन सकेको छैन । जसले गर्दा नेता, कार्यकर्ता निरास हुँदै गएका छन् भने तल्लो तहमा पार्टीका गतिविधि नहुँदा जनताले विर्सिन थालेका छन् ।