सत्तारुढ नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बुधबार बस्दै छ ।

जन्ममिति, सर्टिफिकेट र यसअघिका फैसला समेत विवादास्पद देखिएपछि सत्तारुढ नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ । तर यसबारे कांग्रेस भने अझै स्पष्ट भैसकेको छैन ।

सुनुवाइ भएको ६ दिन भैसक्दासमेत संसदीय समिति निर्णयमा पुग्न सकेको छैन । जेशीको सुनुवाई बिहीबार नै सकिएको थियो तर पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समितिका सांसदहरुले बैठक स्थगित गर्दै आएका छन् ।

जेशीको सर्टिफिकेट र जन्ममिति समेत विवादास्पद भेटिएको छ । जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा र नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएको प्रमाणपत्रमा भेटिएको छ ।

विजय मेमोरियल र नेपाल राष्ट्रिय विद्यापीठ दुवैबाट प्रवेशिका दिएको र दुवैको सिम्बोल नम्बर एउटै भएको भेटिएपछि आशंका बढेको छ । दुईतिर कसरी एउटै सिम्बोल नम्बर भयो भन्ने प्रश्नमा जोशीले आफूले टेस्टसम्म विजय मेमोरियल र त्यसपछि नेपाल राष्ट्रिय विद्यापीठमा पढेकाले त्यस्तो भएको भन्ने जवाफ दिएको समिति स्रोतको भनाई छ ।

जोशीको जन्ममिति पनि फरक फरक भेटिएको छ । विजय मेमोरियलबाट ०२७ मा एसएलसी दिएको भन्ने सर्टिफिकेटमा जन्ममिति २४ कात्तिक ०११ भन्ने उल्लेख छ । तर, अरु डकुमेन्टमा जन्ममिति २४ असोज ०११ छ ।

जोशीले संसदीय सुनुवाई समितिमा बुझाएको शैक्षिक प्रमाणपत्र नै फर्जी रहेको भन्दै नेकपाका सांसदहरुले कुनै हालतमा प्रधानन्यायाधीशमा सिफारिस गर्न नहुने बताएका छन् । तर कांग्रेस सांसदहरु चाहिँ यसबारे अझै प्रष्ट भैसकेका छन् ।

संसदीय सुनुवाई समितिमा १५ जना सांसद छन् । १५ सदस्यीय समितिको ‘सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट अस्वीकृत नभए अनुमोदन भएको मानिने’ भन्ने संसद् नियमावलीमा व्यवस्था छ । समितिका १५ मध्ये १० जनाले अस्वीकृत नगरो संवैधानिक परिषद्ले सिफारिस गरेको नाम अनुमोदन हुनेछ ।