स्थापना दिवसमा नेकपाको एकताले पूर्णता पाउने
काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको ११ महिना वितिसकेको छ । केन्द्रमा एकता भएपनि प्रदेश, जिल्ला र स्थानीय तह तथा जनवर्गीय संगठन र भ्रातृ संगठनहरुमा अझै एकता हुन सकेको छैन । तल्लो तहसम्म एकता नटुंगिदा नेता, कार्यकर्ता कामविहीन भएका छन् भने जिम्मेवारी नतोकिदा केन्द्रीय नेताहरु समेत निस्क्रिय जस्तै देखिन्छन् ।
२०७५ साल जेठ ३ गते पार्टी एकीकरण भएपछि छिट्टै त्यसले पूर्णता पाउने भनिएको थियो । तर अहिलेसम्म पनि एकतालाई निष्कर्षमा पुर्याउन नसक्दा कार्यकर्ता निरास भएका छन् भने पार्टीमा ठूलो नोक्सानी पुगेको सो पार्टीका नेता, कार्यकर्ताले विश्लेषण गरेका छन् ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको टुप्पी गाँठो पारेर तत्कालिन एमाले र माओवादीबीच केन्द्रमा एकीकरण भएपनि प्रदेशदेखि तल्लो तहसम्म एकीकरण नहुँदा नेता, कार्यकर्ताहरु अझै मनोवैज्ञानिक रुपमा विभाजित नै छन् भने प्राविधिक रुपले समेत पार्टी एकीकरण भइसकेको छैन ।
पार्टी एकताले गति लिन्छ भन्ने कुरामा नेता, कार्यकर्ता, मतदाता मात्र होइन, सर्वसाधारण समेत अन्यौलमा देखिन्छन् । पार्टीमा केपी ओलीको नेतृत्व प्रवल देखिएपछि उनले अरु नेताहरुलाई ओझेलमा पार्न खोजेको आरोप लागेको छ । ओलीको व्यवहारले पुष्पकमल दाहाल समेत झस्किन थालेको विभिन्न नेताहरुको टिप्पणी छ । तर पार्टी अध्यक्ष ओलीले पार्टीमा कसैलाई काखा र पाखा नगरिएको र नगर्ने बताएका छन् । उनले गुटउपगुट समेत चल्न नदिने बताउँदै पार्टी एकताका क्रममा उपयुक्त जिम्मेवारी नपाएपनि धैर्यताका साथ पर्खिन आग्रह गर्दै सवैले जिम्मेवारी पाउने बताएका छन् । उनले वैचारिक रुपमा स्पष्ट भएकाले विभिन्न गुट चलाएर पार्टीलाई कमजोर बनाउने प्रयास नगर्न आग्रह पनि गरेका छन् । ओलीले विभिन्न नेताले गुटबन्दीलाई प्रश्रय दिएकै कारण एकता प्रक्रिया लम्बिएको आरोप लगाएका छन् ।
पार्टीभित्र विभिन्न गुटको स्वार्थ हावी भएको देखिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत दुवै अध्यक्षसँग रुष्ट देखिन्छन् । माधव नेपालले विभिन्न ठाउँमा पार्टीमा केपी ओलीको एक्लो प्रभाव बढ्दै गएको भन्दै त्यसरी पार्टी चल्दैन भनेका छन् । अर्का नेता झलनाथ खनाल त्यस्तै रुष्ट देखिएका छन् । वामदेव गौतमदेखि लिएर विरोध खतिवडा, भीम रावल, रघुजी पन्त, घनश्याम भुषाल, अग्नि सापकोटा, जनार्दन शर्मा मात्र होइन गृहमन्त्री रामबहादुर थापा पनि अध्यक्षद्वय ओली र दाहालसँग खासै सन्तुष्ट देखिदैनन् । तसर्थ एकीकरण गर्दा आआफ्ना मानिसलाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने उनीहरुको शर्त हुन सक्छ । ती सवैको चित्त बुझाउन निकै गाह्रो छ भने आन्तरिक विवादकै कारण एकीकरण प्रक्रिया लम्बिएको छ ।
पार्टीको हितलाई भन्दा पनि भोलिको व्यक्तिगत राजनीति सुरक्षित राख्न चाहने प्रवृत्तिका कारण पार्टी एकीकरण भन्दा पनि ध्रुविकृत हुने खतरा बढेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।
पार्टी एकताले पूर्णता नपाउँदा सरकार सञ्चालनमै कठिनाइ भएको र टिम स्पिरिट कमजोर हुँदै गएको पार्टीका माथिल्ला पंक्तिका नेताहरुको टिप्पणी छ । छिट्टै एकताको टुंगो लगाइएन भने चैत पछि वजेट निर्माणलगायतका विषयमा समेत मतभिन्नता हुन सक्ने विश्लेषकहरुको तर्क छ ।
पाँच वर्षका लागि बनेको नेकपाको सरकारले विकृति, विसंगति, अराजकता, र वेथिति आदि निर्मूल गर्दै देश र जनताका लागि गतिला काम गर्छ भन्ने व्यापक जनअपेक्षा थियो । तर सरकारको एक वर्षको कार्यकाल वितिसकेको छ । यो अवधिमा सरकारका काम सन्तोषजनक नभएको भन्दै सर्वसाधारणले मात्र होइन सत्तारुढ दलकै नेता, कार्यकर्ताहरुले चित्त दुखाइरहेका छन् ।
पुस २९ देखि माघ १३ गतेसम्म बसेको स्थायी कमिटीको वैठकमा समेत पार्टी एकताबारे घनिभूत छलफल भएको थियो । तर ओली र दाहालले नै एकतालाई प्राथमिकता नदिएका कारण ढिलाइ भइरहेको अन्य नेताहरुको आरोप छ ।
केही दिनअघि संसदीय दलको वैठकमा बोल्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल फर्किएपछि एकता प्रक्रियाले गति लिने बताएका थिए । दाहाल बिहीबार स्वदेश फर्किसकेका छन् । अध्यक्ष ओलीले केही दिनअघि पार्टी चुनावी गठवन्धन र एकीकरण घोषणा आकस्मिक रुपमा भएको र तल्लो तहसम्मको एकीकरण पनि आकस्मिक रुपमा हुने बताएका थिए । ओली निकट विश्वस्त स्रोतले दिएको जानकारी अनुसार वैशाख १० गते भित्र पार्टीको एकतालाई पूर्णता दिने तयारी भएको छ । पार्टीका सम्पूर्ण कमिटीहरुको एकता भएको घोषणा वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा गरिने बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते (२२ अप्रिल १९४९) भएको थियो । निरंकुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक जन–आन्दोलनका क्रममा नेकपा स्थापना भएको हो ।
नेकपाका संस्थापक नेता पुष्पलाल थिए भने अन्य संस्थापकहरूमा नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठ थिए । नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ भन्ने पर्चा नै नेकपा स्थापनाका सन्दर्भमा जारी गरिएको पहिलो पर्चा हो । यसै पर्चाको माध्यमबाट नै नेपालमा संगठित कम्युनिस्ट आन्दोलनको विकास भएको पाइन्छ ।
नेकपाको स्थापना पश्चात १५ सेप्टेम्बर १९४९ मा कम्युनिस्ट पार्टीको कार्यक्रम सम्बन्धी पहिलो घोषणा–पत्र जारी भएको थियो । ‘पहाड, पर्वत, खोलानाला जग्गाजमीन सबको, मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको’ भन्ने उद्घोषका साथ जारी गरिएको घोषणा–पत्रले लोक जनवादी नेपालको निर्माण गर्ने सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्वन गरेको थियो ।
पहिलो घोषणा–पत्रमा भनिएको नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने र त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा समर्पित हुने । नेकपाद्वारा ऐतिहासिक घोषणा–पत्र जारी भएको एक वर्ष बित्दा नबित्दै नेपालमा ठूलो राजनीतिक उथल–पुथल आएको थियो । २००७ साल फाल्गुण ७ गते जहानिया राणा शासनको अन्त्य भएको थियो । तर समय वित्दै जाँदा नेकपाले आफ्नो घोषणापत्र र उद्देश्य अनुसार काम गर्न नसकेको आरोप पार्टीभित्रैबाट उठिरहेको छ ।