पञ्चवर्षीय आधार पत्र बन्छ त विकासको पूर्वाधार

काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार पारेको मुलुक विकासको पञ्चवर्षीय आधार पत्र पारित भएको छ । काठमाडौंको होटल शोल्टीमा बुधबार र बिहीबार भएको विकास परिषदको बैठकले आयोगले तयार पारेको १५ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले योजना आयोगको १५ औं पञ्चवर्षीय योजनामार्फत बाँकी काम पूरा गर्ने बताए । योजना आयोगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीका लागि केही प्रमुख सुचक रहेको समेत चर्चा गरेका छन् ।
आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय, सुरक्षित आवास, वेरोजगारीको समस्या निराकरण, औषत आयुलगायतका कुरालाई राज्यले विशेष ध्यान दिने उनको धारणा छ । यस्तै राष्ट्रिय लक्ष्यका लागि कानूनी शासन, स्वच्छ वातावरण, उच्च र दिगो उत्पादकत्व, मानव पुँजीको परिचालनलगायतका विषय सरकारको प्राथमिकतामा परेको प्रधानमन्त्रीले जानकारी गराएका छन् ।
सो कार्यक्रममा योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आउँदो पाँच वर्षमा नेपालको आर्थिक क्षेत्रमा केही प्रगति हुने आश्वासन दिएका थिए ।
आयोगले तयार पारेको आर्थिक वर्ष ०७६÷०७७ देखि ०८०÷०८१ सम्मको विकास रणनीतिको मस्यौदामाथि बैठकमा छलफल भएको थियो । आधार पत्रमा हाल ५ दशमलब ९ प्रतिशत रहेको आर्थिक वृद्धिदर आगामी पाँच वर्षमा बढेर १० दशमलब ३ पु¥याउने लक्ष्य निर्धारण गरिएको छ ।
२८ दशमलब ६ प्रतिशत रहेको बहुआयामिक गरिबीको दरलाई पाँच वर्षमा १४ प्रतिशतमा झार्ने लक्ष्य १५औं आधार पत्रमा छ ।
यस्तै ११ दशमलब ४ प्रतिशत रहेको बेरोजगारको दरलाई विस २०८१ सम्म ४ प्रतिशतमा झारिने, १ हजार ७४ मेगावाट विद्युत् उत्पादनलाई ५ हजार मेगावाट पुर्याउने जस्ता ३३ वटा सूचकहरुको लक्ष्य निर्धारण गरिएको छ ।
यो योजनामा आगामी पाँच वर्षलाई अर्थात आर्थिक वर्ष ०७६÷०७७ देखि ८०÷०८१ सम्मलाई समृद्धि र सुखको आधार वर्षका रुपमा व्याख्या गरिएको छ ।
पाँच वर्षमा समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिस्कृत जीवनसहितको समाजवाद उन्मुख लोकल्याणकारी राज्यको रुपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार तयार पार्ने योजना छ । ८ महिनाअघि तयार पारिएको योजनाको मस्यौदा परिषद बैठकले पारित गरेसँगै अब मन्त्रिपरिषदमा पेश गरिनेछ ।