नेताहरुमा बेलैमा चेतना जागोस्
सत्ता र विपक्षमा रहेका ठूला दलहरु गुटबन्दीको शिकार मात्र भइरहेका छैनन्, मार्गचित्रविहीन जस्तो देखिदै गएका छन् । सत्तारुढ दलको आन्तरिक विवादले केन्द्रदेखि तल्लो तहसम्म जरो गाडेको छ भने सरकारका कामकारवाही समेत प्रभावकारी हुन सकेका छैनन् । सरकारलाई खबरदारी गर्ने र रचनात्मक सुझाव दिने दायित्व भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भागवण्डाको विवादले आफूभित्रै रुमलिएको छ, अन्यौलग्रस्त बनेको छ ।
पार्टी एकीकरणको कुरा ओझेलमा परेकाले विगतमा एमाले र माओवादीको पहिचान बनाएका दुई दल अझै एकजुट हुन सकिरहेका छैनन् । प्राविधिक रुपमा उनीहरु एउटै पार्टी भनिएपनि वास्तवमा पार्टी बन्ने क्रममै छन् । पार्टी एकीकरण नहुँदै नेतादेखि कार्यकर्तासम्म मनोवैज्ञानिक रुपले विभाजित हुनु सो पार्टीका निम्ति दुर्भाग्यपूर्ण कुरा हो । पार्टीका वरिष्ठ नेताहरुको समेत कुरा नसुनेर अध्यक्ष अोलीले एकतन्त्रीढंगले काम गरेको भन्दै कैयन् नेताहरुले आरोप लगाइरहेका छन् । यस्तै अवस्था रहिरह्यो भने ४० जिल्लामा समानान्तर समिति बनाएर आफूहरुले आफ्नै ढंगले काम गर्ने वरिष्ठ नेता माधव नेपालले नै चेतावनी दिएका छन् । यसले गर्दा पार्टीभित्र विधि र मापदण्ड कमजोर हुँदै गएको देखिन्छ भने आफ्ना मान्छेलाई समातेर अरुलाई उपेक्षा गर्ने अध्यक्षको प्रवृत्तिले पार्टीलाई मात्र होइन, राजनीतिक प्रणालीलाई समेत ठूलो धक्का पुग्न सक्छ ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलमात्र होइन संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरु पनि त्यस्तै विवाद र अन्यौलको शिकार भएको देखिन्छ । राप्रपादेखि लिएर राजपा समेत सरकारसँग रुष्ट रहेको अवस्था छ । यही हप्ता पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा संयुक्तले निर्वाचन आयोगबाट वैधानिक मान्यता र चुनाव चिन्ह ‘हलो’ पाएपछि उनीहरू मख्ख भएका छन् । जोत्ने थलो नै नभएकाले हलोको के काम ! राजपाको वैशाख ७ देखि ९ गतेसम्म हुने भनिएको महाधिवेशन सर्ने भएको छ । अर्को मिति वैशाख ८ गते घोषणा गरिने बताइएको छ । नेताहरुको विवादकै कारण राजपाको महाधिवेशन सरेको देखिन्छ ।
आशंका, अविश्वास, असन्तुष्टि र अन्यौलले ठूलादेखि साना पार्टीलाई समेत अनिर्णयको बन्दी बनाएकै अवस्थामा पूर्वराजाले नयाँ वर्षको अवसर पारेर राजनीतिक नेतृत्व र प्रणालीप्रति नै प्रश्न उठाएका छन् । हालै मात्र मध्यतराईदेखि पूर्वी पहाडी जिल्लाहरुको समेत भ्रमण गरेका ज्ञानेन्द्र ‘आफू जनताको घर दैलोमा पुग्दा अनगिन्ती समस्या र पीडा पाएको बताउँदै लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसकेको उल्लेख गर्दै यस्तो नाजुक अवस्थालाई अझै कति सहने’ भन्ने प्रश्न गरेर जनतालाई सरकारविरुद्ध उकास्न खोजेका छन् । भ्रमणका क्रममा देखिएको भीडले फुरुङ्ग भएका पूर्वराजाले ‘विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’ भनेर पूर्वराजाले विगतमा आफूबाट पनि कुनै गल्ती भएका भए क्षमा माग्छु भन्दै आफूलाई साथ दिन जनतासँग अपिल गरेका छन् ।
सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन र सत्तारुढ दल तथा विपक्षी दलहरु पनि गम्भीर भएर अघि बढ्न सकेनन् भने आउँदा दिनमा राजनीतिक शक्तिहरु अझ कमजोर बन्दै जाने र ०६२÷०६३ मा जनताले रगत बगाएर ल्याएको परिवर्तन गुम्ने सम्भावना बढ्न थालेको छ । सरकार र राजनीतिक दलका नेताहरुमा बेलैमा चेतना जागोस्, हत्या, हिंसा, बलात्कार, अशान्ति, असुरक्षा हटोस्, सरकारले घोषणा गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले सार्थकता पाओस् । नयाँ वर्ष २०७६ को शुभकामना ।