एक विद्यालयका सात शिक्षिका गर्भवती
हामीले केहीदिनअघि अमेरिकाको मेइन अस्पतालमा कार्यरत ९ नर्सहरु एकसाथ गर्भवती भएको समाचार प्रकाशित गरेका थियौ । डेलिभेरी युनिटमा कार्यरत सबै सहकर्मी एकैसाथ गर्भवती भएको र बच्चा जन्मिने मितिसमेत लगभग उस्तै रहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारलाई हामीले पनि प्रकाशित गरेका थियौ । त्यस्तै प्रकृतिका समाचार सार्वजनिक भएको छ ।
अमेरिकाकै एक स्कुलका ७ जना शिक्षिका एकै पटक गर्भवती भएको खबर सार्वजनिक भएको छ । अझ रोचक त के भने यी सातजना महिलाले कूल मिलाएर ८ जना बच्चा जन्माउने छन् । अर्थात् एकजना शिक्षिकाको गर्भमा जुम्ल्याहा बच्चा रहेको बताइएको छ ।
कन्सासस्थित ओक स्ट्रीट प्राथमिक विद्यालयका ती सात शिक्षिकाहरु एकैपटक आमा बन्ने समाचारले गर्दा उक्त विद्यालयका सबैजना रोमाञ्चित बनेका छन् भने प्रधानाध्यापक एश्ले मिलरले ७ जना सहकर्मीहरु एकसाथ आमा बन्ने खबरले आफू दंग भएको बताएकी छिन् । त्यो विद्यालयमा १४ जना महिला शिक्षकहरु मात्र रहेको बताइएको छ । त्यसमध्ये आधा शिक्षिका एकै पटक सुत्केरी बिदामा बसेपछि पढाउने शिक्षिकाहरुको जोहो कसरी गर्ने भन्ने चिन्ता थपिएको प्रधानाध्यापिका मिलरले बताएकी छिन् । उनले सुत्केरी शिक्षिकाहरु बिदामा बसेपछि सो अवधिसम्मका लागि अस्थायी रुपमा शिक्षिकाहरु भर्ना गर्ने सोच बनाएको उनले बताएकी छिन् ।