चन्दको नयाँ रणनीति

काठमाडौं । नेत्रविक्रम चन्दले राजनीतिक समाधानका लागि नयाँ प्रस्ताव अघि सारेका छन् । सरकारले प्रतिवन्ध लगाएर चन्द नेतृत्वको नेकपाका गतिविधि नियन्त्रण गर्न खोजेपछि चन्द समूहले पनि आफूमाथि लगाएको प्रतिवन्ध हटाउनुपर्ने शर्त अघि सारेका छन् ।
सरकारले प्रतिवन्ध लगाएपछि प्रहरीले चन्दका पाँच सय भन्दा बढी नेता, कार्यकर्ता पक्राउ गरेको छ । केहीलाई अनुसन्धान पछि प्रहरीले छोडेको छ भने केही अदालतको आदेशमा छुटेका छन् । विप्लवले पार्टीका केन्द्रीय नेता हेमन्तप्रकाश ओलीलगायतका सबैलाई रिहा गर्न माग गर्दै त्यसो नगरिएमा विरोधका कार्यक्रम अरु चर्काउने चेतावनी दिएका छन् । सो पार्टीले बन्दी प्रत्यक्षीकरण मार्फत ओलीलाई रिहा गराउन सर्वोच्चमा निवेदन दिएपनि अदालतले अस्वीकार गरेपछि चन्दले अदालत पनि राजनीतिक दवावमा परेको आरोप लगाएका छन् ।
स्रोतका अनुसार गौरमा बसेको पार्टी स्थायी कमिटी वैठकले रणनीति परिवर्तन गर्दै आउँदा दिनमा नयाँ शैलीको रणनीति र कार्यनीति अनुसार काम गर्ने संकेत देखाएको छ । तर ती सबै रणनीति गोप्य राखिएको छ । कतिपय विश्लेषकहरुले चन्द समूहलाई पुष्पकमल दाहालसँग असन्तुष्ट पूर्व माओवादीको समर्थन समेत रहेको बताएका छन् ।
पार्टीलाई प्रतिवन्ध लगाउँदै कार्यकर्तालाई पक्राउ गरेर सरकारले समाधान खोज्नु गलत भएको चन्दको धारणा छ । आफ्ना नेता, कार्यकर्तालाई थुनेर राजनीतिक दमन गर्न खोजिएमा परिस्थिति अरु जटिल बन्न सक्ने चेतावनी उनले दिएका छन् ।
चैत ११ गते जारी गरेको विज्ञप्तिमा पनि पार्टीका महासचिव चन्दले शान्तिपूर्ण आन्दोलन गर्दा पनि दमन जारी रहेमा आम हड्ताल गर्ने बताएका थिए । सरकारले कस्तो व्यवहार गर्छ त्यसमा आफ्ना गतिविधि भर पर्ने उनको धारणा छ । हिंसाको सहारा लिए समाज र जनताको समर्थन पाउन सकिदैन भन्ने बुझेर होला चन्दले जनताले दुःख नपाउन् भन्ने कुरामा पार्टी सचेत रहेको बताएका छन् ।
वन्दी प्रत्यक्षीकरण सम्वन्धी मुद्दालाई लम्व्याएर अदालतले पनि राजनीतिक दवावमा काम गरेको चन्दले आरोप लगाएका छन् । राजनीतिक दलसँग राजनीतिक शैलीमै व्यवहार गरेमा मात्र समस्याको समाधान हुने उनले बताएका छन् ।