पुर्व सांसद भण्डारीः जो आफै श्रद्धाञ्जीको पात्र बने

बुटवल । नेपाली कांग्रेस पार्टीका एकसाथीको मृत्युमा श्रद्धाञ्जली दिएर फेरी अर्को मृतक साथीको तस्वीरमा श्रद्धाञ्जली दिन हिडेका गुल्मीका पुर्व सांसद रुद्रमणी शर्मा भण्डारी विहिवार जिप दुर्घटनामा परि आफै श्रद्धाञ्जलीको पात्र बन्नु परेको छ । विहान करिव ८ बजेको समयमा मालिका गाउँपालिका–२ , दर्लिङ्गबाट बुटवलका लागि छुटेको लु १ ज १९६७ नम्वरको जीप मुसिकोट नगरपालिका–१ , नेटा च्याँनडाँडामा दुर्घटना हुँदा पुर्व सांसद भण्डारी सहित ३ जनाको मृत्यु भएको हो ।
नेपाली कांग्रेस घमिरका उपसभापति तथा नेपाल दलित संघका जिल्ला उपसभापति टेकबहादुर बिकको मृत्यु हुँदा पूर्व सांसद भण्डारी बुधवार आफ्नो घर धुर्कोट–५ वस्तुबाट घमिर पुगेका थिए । त्यहाँको श्रद्धाञ्जली सकेर आफुले भुमिगत राजनैतिक जिवनमा पढाउने गल्कोट हटिया स्थित अर्का एक मृतक साथीको तस्वीरमा श्रद्धाञ्जली दिन अर्खवाङ्ग हुँदै दर्लिङ्ग पुगेर उक्त जीप चढी उनी गल्कोट जाँदै थिए ।
त्यस दुर्घटनामा एकै परिवारका चार जना परेका छन् । मालिका गाउँपालिका–३ ह्वाङ्गदीकी २६ बर्षिय कौशिला थापा ३२ बर्षिय उनका श्रीमान सुर्य थापा, उनकी ५ बर्षिया छोरी जेनिसा थापा र ३ बर्षिया अर्की छोरी कृतिमा थापा सहित चार जना दुर्घटनामा परेका हुन् ।
श्रीमति थापाको मृत्यु भएको छ । उनका श्रीमान र तीन सन्तान गम्भीर घाईते भई उपचारका लागि पाल्पा रिफर गरिएको छ । मालिका गाउँपालिका–१, नेटाका ८ बर्षिय बालक ओस्कर बिकको पनि ज्यान गएको छ । मृतक तीनै जनाको शव जिल्ला अस्पतालबाट मृतक घोषणा गरिएको छ । घाईते सात जनालाई उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।
को हुन पुर्व सांसद भण्डारी ?
धुर्कोट गाउँपालिका–५ वस्तुमा पिता उमाकान्त भण्डारी र माता कौशिला भण्डारीको कोखबाट २००४ साल कार्तिक १५ गते जन्मिएका थिए रुद्रमणी शर्मा भण्डारी । सस्कृत शिक्षा हुँदै स्नातक सम्म अध्ययन गरेका शर्मा भण्डारी विद्यार्थी काल देखि नेपाली कांग्रेसको राजनीतिमा होमिएका थिए ।
तत्कालिन शासकहरुले राजनैतिक दलमाथी प्रतिबन्ध लगाए पछि उनि गुल्मीबाट भुमिगत हुन बाग्लुङ्गको गल्कोट तर्फ पुगेका थिए । हटियाको एक विद्यालयमा पढाउँदै उनले राजनीति गरेका थिए । नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठका अनुसार भण्डारी नेपाल विद्यार्थी संघ गुल्मीका संस्थापक जिल्ला सदस्यबाट खुल्ला राजनैतिक यात्रामा सक्रिय हुँदै आएका थिए ।
उनि २०५८ सालमा सो पार्टीको जिल्ला सभापति भएका थिए । २०४८ सालको निर्वाचनमा उनि गुल्मीको साविक क्षेत्र नम्वर ४ बाट सांसदमा विजयी भएका थिए । पछिल्लो समय उनि महाधिवेशन प्रतिनिधी थिए ।
सभापति श्रेष्ठ लगायतका नेताहरु संग उनि बुधवार घमिरमा पुगेर स्वर्गिय टेकबहादुर बिश्वकर्माको श्रद्धाञ्जली सभामा शोक मन्तब्य राखेका थिए । त्यही मन्तब्य नै उनको अन्तिम मन्तब्य बन्न पुग्यो । केहि दिन अघि भेटमा अब त बुढो भईएन र ? भन्ने प्रश्नमा उनले राजनीतिमा कहिल्लै बुढो नभईने प्रतिकृया दिदै तरुणको जस्तै जोस आफुमा रहेको बताएका थिए ।
नेपाली कांग्रेस मालिका गाउँपालिकाका छायाँ सरकार प्रमुख उपेन्द्र अर्याल भन्छन–‘ हिजो घमिरबाट आएर ठुलाचौरमा पार्टीका साथीहरु संग उहाँले बैठक राख्नु भयो । त्यस पछि मेरै घरमा आएर बस्यौं ।
पार्टी संगठनलाई चुस्त पार्न उहाँका सुझाव सल्लाहहरु पायौं । सादा खाना खाने उहाँले दाल भात तरकारी खानु भयो । विहान उठेर पानी र चिया पियौं । मैले उहाँलाई मोटर साईकलमा दर्लिङ्ग सम्म छाड्न गएँ । जाउँ उपेन्द्र गल्कोट सम्म भन्दै हुनुहुन्थ्यो । मेरो यहाँ जरुरी काम भएकोले जान सकिन भने । दर्लिङ्ग पुगेर पनि चिया पियौं । गाडीमा चढ्नु भयो ।
सदाको झैं मिठो मुस्कान सहित लौ पर्सी धुर्कोटमा आउनु र बसौला भन्दै वाईवाईको हात हल्लाउनु भयो । जुन अन्तिम वाईवाईको हात बन्न पुग्यो । त्यही दृश्य मानसपटलमा घुमेको छ , त्यसैले धेरै बोल्न सक्ने अवस्थामा छैन ।’
उनि सांसद रहँदा त्यस क्षेत्रका मोटरबाटो, खानेपानी, शैक्षिक क्षेत्रको विकासमा उल्लेखनिय काम भएका थिए । धुर्कोटको हिमालय माध्यमिक विद्यालय, त्यहाँको क्याम्पस स्थापनामा उनको ठुलो देन छ । हरेक संग नमुस्कुराई नबोल्ने र वोलीमा मिठास उनको भुल्नै नसक्ने स्वभाव हो ।
हामीले अभिभावक गुमायौंः गाउ“पालिका प्रमुख
धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल भन्छन्–‘उहाँ संग मेरो पछिल्लो भेट चैत्र २३ गते भएको थियो । मन्त्री वैजनाथ चौधरी धुर्कोट आउनु हुने भएको हुँदा जसरी पनि आई दिनु हुन मैले उहाँलाई निमन्त्रणा गरेको थिएँ ।
उता नगएर यता आएको भए पनि यस्तो दुखद् घटना घट्ने थिएन कि भन्ने लागेको छ । हुन त उहाँ सिंङ्गो गुुल्मीकै अभिभावक हो, त्यसमा पनि हामी धुर्कोटवासीका लागि घर कै खम्वा अभिभावक हो जसलाई हामी गुमाउन पुगेका छौं र धुर्कोटवासी शोकाकुल छौं । ’
सभापति श्रेष्ठ यसरी सम्झिन्छन्
नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले घमिरमा भएको श्रद्धाञ्जली सभामा पुर्व सांसद भण्डारी र आफुहरु संगै गएको बताए । उहाँ त्यस श्रद्धाञ्जली सभामा बोलेका कुरा स्मरण गरिरहेको श्रेष्ठ बताउँ छन् ।
उहाँ बृद्ध उमेरमा पनि तरुण जति कै राजनीति र समाज सेवामा सक्रिय हुँदै आउनु भएका नेता हुनुहुन्थ्यो । पुर्व पार्टी सभापति र अहिले महाधिवेशन प्रतिनिधी हुनुहुन्थ्यो श्रेष्ठले भने उहाँमा कहिल्यै थकान आएन ।
उहाँको राजनैतिक ईतिहास र समाज सेवाको ईतिहास धेरै लामो र गहकिलो छ, शोकको यस घडिमा ब्यक्त गर्न गाह्रो छ, हामी स्तब्ध छौं । भण्डारीले धुर्कोट परमानन्द बहुमुखी क्याम्पस सञ्चालन गर्न आर्थिक अभाव भए पछि काठमाण्डौंमा प्रध्यापन गराउने आफ्नी धर्मपत्नी नातीमैया महार्जनलाई त्यहाँबाट झिकाएर तीन बर्ष सम्म निशुल्क पढाउन लगाएका थिए ।
उनले लोभ लालचको राजनीति गरेको भए काठमाण्डौमा घर बनाउथे । तर उनि कहिल्यै लोभ लालचमा लागेनन् र आफ्नो पुख्र्यौली घर वस्तुबाटै बुढेशकाल सम्म लौरो टेकेर जनताको सेवामा सक्रिय रहे । उनका दुई श्रीमति, एक छोरा र छोरी छन् ।
दुर्घटनामा एकै परिवारका चार जना
विहिवारको उक्त जिप दुर्घटनामा एकै परिवारका चार जना परेका छन् । मालिका गाउँपालिका–ह्वाङ्गदीका ३२ बर्षिय सुर्य थापा, उनकी २६ बर्षिया श्रीमति कौशिला थापा, उनकी ५ बर्षिया छोरी जेनिसा थापा र ३ बर्षिया अर्की छोरी कृतिमा थापा त्यस दुर्घटनामा परेका हुन् । उपचार गर्न लैजाने क्रममा श्रीमति थापाको मृत्यु भएको छ । श्रीमान र दुई सन्तानलाई पाल्पा रिफर गरिएको छ । श्रीमान थापा भारतीय सेनामा कार्यरत छन् । उनि केहि दिन अघि मात्र घर विदा आई बुटवलमा बनाउन थालिएको घर सक्ने चटारोमा घरमा चैतेदशै नमानी बुटवल तर्फ हिडेका थिए ।