एकतालाई पूर्णता दिन नेकपा अध्यक्षद्वयलाई चटारो
नेतृत्वमा आफ्ना मान्छे ल्याउन नेताहरुको दौडधुप
काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई पूर्णता दिन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले छलफललाई तीव्रता दिएका छन् भने अन्य नेताहरु आफू समर्थकलाई नेतृत्वमा ल्याउन दौडधुप गरिरहेका छन् । पार्टी एकताको ११ महिना भएपनि सबै तहको एकीकरण प्रक्रियाले पूर्णता पाएको छैन । जसले गर्दा नेता, कार्यकर्तामा अनेकन् आशंकाहरु देखिन्छन् ।
पार्टी स्थापना दिवस अर्थात वैशाख ९ गते अगाडि नै एकता प्रक्रिया टुंग्याउन नेकपाका नेताहरुबीच केही दिन अघिदेखि प्रधानमन्त्री निवास वालुवाटारमा पटकपटक छलफल चलेका छन् ।
एकतालाई पूर्णता दिनेबारेमा अध्यक्षद्वयसँग छलफल भएको वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । छलफल सकारात्मक भएपनि नीति सार्वजनिक गरिहाल्ने अवस्था नभएको उनले बताएका छन् ।
यसअघि चैत २९ गते सोही विषयलाई लिएर चन्द्रागिरीमा ओली, दाहालबीच छलफल भएको थियो भने वैशाख २ गते पनि यस विषयमा वालुवाटारमा छलफल भएको बताइएको छ । अध्यक्षद्वय र नेपालबीच शुक्रबार र शनिबार दुई चरणमा छलफल भएपछि समस्या सुल्झिने सम्भावना बढेको छ ।
७७ जिल्ला मध्ये ४५ वटा जिल्लामा एमाले पृष्ठभूमि र ३२ जिल्लामा माओवादीका पूर्वनेताले कमाण्ड सम्हाल्ने ओली र दाहालले सहमति गरेका छन् । तर यस कुरामा पार्टीका अरु नेताहरु सहमत देखिदैनन् । साविकका कमिटीलाई हेरफेर गर्दै सबैभन्दा बरिष्ठलाई जिल्लाको नेतृत्व दिन माधव नेपालले शर्त राखेका छन् भने त्यसमा ओली र दाहाल नरम भएपछि जिल्ला तहको एकता टुंगिने लक्षण देखिएको छ ।
साविकका जिल्ला कमिटीहरुमा वरिष्ठताकै आधारमा जिल्ला नेतृत्व टुंगो लगाउन माधव नेपालले राखेको प्रस्तावमा ओली लचिलो बनेको बताइएको छ । एकता सहज हुन्छ भने जिल्ला नेतृत्वमा जिम्मेवारी दिन नयाँ मापदण्ड बनाउन सकिन्छ भन्ने पुष्पकमल दाहालको धारणा छ भने त्यस्तो मापदण्डबाट विगतका माओवादी र एमाले दुवैलाई सहज हुन सक्ने प्रम तथा अध्यक्ष ओलीको धारणा छ ।
यसैबीच ओली र दाहालले पार्टीभित्र असन्तुष्टि रहिरहे पनि पेलेरै भएपनि एकतालाई पूर्णता दिने तयारीमा रहेको बुझिएको छ । नेताहरुबीचको विवादकै कारण एकताले पूर्णता पाउन लामो समय लागेको र सवै नेताको चित्त बुझाउन अझै केही वर्ष लाग्ने भएकाले अध्यक्षद्वय पेलेर अघि बढ्ने मुडमा पुगेको एक नेताले बताएका छन् ।
एकीकरण प्रक्रिया टुंगिएर पार्टी एकढिक्का भएको सन्देश जान सकेन भने कालान्तरमा पार्टी फुट्न सक्ने सम्भावना रहेको विश्लेषकहरुको धारणा छ । एकताको क्रममा सचिवालयले बनाएको मापदण्ड अनुसार जानुपर्ने माधव नेपाललगायतका नेताहरुको धारणा छ । यस्ता विषयमा पार्टीभित्र केही अन्तरविरोध देखिन्छन् ।
ओली र दाहालकै वीचमा पनि एकीकरण प्रक्रियालाई लिएर केही मनोवैज्ञानिक दुरी बढेको देखिन्छ । तर त्यसको व्यवस्थापन गर्न ओली र दाहाल मात्र होइन, उनीहरुका आलोचकहरु पनि तयार रहेकाले तत्काल नेकपामा ठूलो अनिष्ट हुन सक्ने सम्भावना पनि देखिदैन ।