गुटमा गुट्मुटिएको कांग्रेस जुर्मुराउँदै

नेतृत्वविहीन नेविसंघमा पाँच गुट

काठमाडौं । नेपाली कांग्रेसले आपसमा रहेको कटुता बिर्सदै ७७ जिल्लामा जनजागरण अभियान चलाउने भएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला र महामन्त्री शशांक कोइराला जस्ता नेताहरुबीचमै मतभिन्नता भएपनि कार्यकर्तामा निरासा नफैलियोस् भनेर जागरण अभियान ल्याउन खोजेको देखिन्छ ।
सभापति देउवाले आफ्नै पार्टीभित्र मतभेद भएका कारण सत्तापक्षको ज्यादति बढेको टिप्पणी गर्दै मतभिन्नता समाधान गर्न सकिएन भने पार्टी कमजोर हुने पनि बताएका छन् ।
वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर सुरु हुने ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ मेलमिलाप दिवसको दिन अर्थात् पुस १६ गते समापन हुने बताइएको छ ।
मङ्गलबार काँग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर ७७ जिल्ला, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने जानकारी दिएको छ । सबै जिल्ला, क्षेत्र, गाउँ, नगर, वडा र टोलसम्म सञ्चालन गर्ने तीन चरणको अभियानअन्तर्गत पहिलो चरणको अभियान वैशाख ११ मा थालेर जेठ ११ मा सम्पन्न गर्ने बताइएको छ ।
त्यस्तै, दोस्रो चरणको कार्यक्रम भदौ २४ बाट सुरु भएर असोज ७ गते सक्ने तथा तेस्रो चरणमा पुस ७ देखि १६ गतेसम्म ९ दिनको कार्याक्रम तय गरेको छ ।
पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रित, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रित हुने काँग्रेसले जनाएको छ । सबै तहमा हुने तीन चरणको कार्यक्रममा केन्द्रीय प्रतिनिधि सहभागी गराउने काँग्रेसको तयारी छ ।
आन्तरिक विवादका कारण नागरिकले प्रतिपक्ष भएको अनुभूति गर्न नसकेको गुनासो आइरहेका बेला काँग्रेस जागरण अभियानको तयारीमा लागेको हो । जसबाट आफूमाथि लागेको निरिह प्रतिपक्षीको ट्याग मेटाएर पार्टीमा जागरण ल्याउने उद्देश्य काँग्रेसको छ । उसले राष्ट्रिय जागरण अभियानबाट १४ वटा उद्देश्य प्राप्त गर्ने लक्ष्य लिएको छ ।
यस्ता छन् जागरणका १४ उद्देश्य ?
१. नेपाली काँग्रेसको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्न ।
२. राष्ट्रव्यापी रूपमा पार्टी पङ्क्तिमा नवीन ढङ्गको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न । पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पङ्क्तिमा जागरण अभिवृद्धि गर्न ।
३. नेपाली काँग्रेसको नेतृत्वमा विगतमा हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएको काम, नागरिक पङ्क्तिमा व्यापक ढङ्गले सम्प्रेषित गर्न ।
४. वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसङ्गतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढङ्गले प्रष्ट्याउन ।
५. नेपाली समाजमा रहेका अनेक फरक मत संविधान वा राज्य प्रणाली बारेकै विमति समेतलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न आवश्यक छलफल र बहस विभिन्न स्तरमा अघि बढाउन ।
६. जनता मतदाता र नेपाली काँग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरूबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट तुल्याउन जनसंवादमार्फत जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई समर्पित गराउन ।
७. तराई मधेसलगायत मुलुकका कतिपय भूभागमा रहेका असन्तुष्टिहरूको समाधान सूत्र, विगतमा नेपाली काँग्रेसको सरकारले अगाडि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो भन्ने कुरालाई आम नागरिका बीचमा प्रष्ट्याउँदै त्यसका लागि आवश्यक जनमत र वातावरण निर्माण गर्न ।
८. कम्युनिस्ट पार्टीको सरकार बनेपछि कूटनीतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, सेयर बजारप्रतिको नकारात्मक व्यवहार र उब्जिएको प्रतिकूल परिणाम, बौद्धिक समुदायप्रतिको अबौद्धिक टिप्पणीहरू र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्यसंरक्षित बेथिति आदि सन्दर्भले मुलुकको छविलाई परिरहेको असरबारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तक्र्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।
९. तीनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्बन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाब बढाउन ।
१०. नेपाली समाजमा केही समययता भइरहेका निर्मला पन्त प्रकरणझैँ महिला हिंसाका अनेक घटना र प्रवृत्तिविरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न र गराउन ।
११. भूकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानमा सघाउन र यस्तो सम्भावित विपद् सामना गर्ने सतर्कताका साथ काम गर्ने स्वयंसेवी समूह निर्माण गर्न ।
१२. स्वेदशसँगै विदेशमा रहेका ५० लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, सङ्घीयताको संवद्र्धन र समृद्धिमा सहभागिताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रबन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दबाब बढाउन ।
१३. वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथिति अन्त्यका लागि दबाब बढाउँदै श्रमिक नेपाली युवाहरूको पीडामा मल्हम लगाउन ।
१४. कम्युनिस्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रतामाथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अनेकौँ प्रयत्न आदिविरुद्ध नेपाली प्रेस जगतसँग सहकार्य गर्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।
राष्ट्रिय जागरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएका छन् । नेता, कार्यकर्ताहरुले पार्टीले शुरु गरेको जागरण अभियान राम्रो भएको र त्यससँगै आन्तरिक किचलो अन्त्य गरेर ‘कमजोर’ अवस्थामा पुगेको पार्टीलाई पुरानो अवस्थाको भन्दा सशक्त बनाउनुपर्ने, भ्रातृ सङ्गठन र पार्टीका विभिन्न विभागलाई पुर्णता दिनु पर्ने बताएका छन् ।
राष्ट्रव्यापी रूपमा पार्टी पङ्क्तिमा नवीन ढङ्गको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने जागरणको उद्देश्य भए पनि १४औँ महाधिवेशनको रन्को लागिसकेकाले जागरण अभियानलाई आफ्नो स्वार्थपूर्तिका लागि नेताहरुले प्रयोग गर्ने त होइनन्, भन्ने प्रश्न पनि कार्यकर्ताहरुले उठाएका छन् । जो जहाँ पुग्छ उनीहरुले पार्टीको हितमा भन्दा पनि आफ्नो भविष्यलाई इंगित गर्दै भाषण गर्ने हुन् कि भन्ने आशंका पनि कांग्रेसजनमा व्याप्त देखिन्छ ।

नेतृत्वविहीन नेविसंघमा पाँच गुट
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा पार्टीभित्रको गुटबन्दीको प्रभाव नराम्रोसँग परेको छ । पार्टी समर्थित विद्यार्थीहरुलाई प्रयोग गरेर स्वार्थ पूर्ति गर्ने केन्द्रीय नेताहरुको योजनाले विद्यार्थीसंघ नै धरासायी भएको छ । पार्टी नेताहरुको गुटबन्दीकै कारण नेतृत्वविहीन भएको नेविसंघको शुक्रबार स्वर्ण जन्यन्ती अर्थात स्थापनाको ४९ वर्ष पुरा भएको छ ।
विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो । त्यस समय यता नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।
पार्टीको सशक्त र प्रभावशाली संगठनका रुपमा रहेको नेविसंघ पछिल्लो समय नेताहरुका स्वार्थले अस्तव्यस्त मात्र होइन, ध्वस्त नै हुने स्थितिमा पुगेको छ ।
मुलपाटी कांग्रेसमा गुटबन्दी बढ्दै जाँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको मात्र होइन, पूर्वमहामन्त्री कृष्ण सिटौला, वर्तमान महामन्त्री शशांक कोइरालाको स्पष्ट गुट देखिएको छ भने भर्खरै मात्र पार्टी एकीकरण गरेका विजयकुमार गच्छदारको छुट्टै समूह छँदैछ ।


पार्टीकै गुटबन्दीका कारण नेविसंघमा पनि नेतापिच्छेका गुट देखिएका छन् । शुक्रबार स्थापना दिवसमा नेविसंघको पाँच गुटले पाँच ठाउँमा कार्यक्रम गरेपछि नेविसंघ समर्थक विद्यार्थीहरु निरास देखिएका छन् ।
नेविसंघको मुल नेतृत्व नभएपछि देउवा पक्षका विद्यार्थीले नेविसंघ काठमाडौं कार्यसमितिको आयोजनामा स्थापना दिवस मनाउने निर्णय गरेको थियोर । राष्ट्रिय सभागृहमा आयोजना गरेको सो कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टी पदाधिकारी, संघका पूर्वअध्यक्षहरू समेतको उपस्थिति रहने बताइएको थियो । तर सो कार्यक्रममा सभापति देउवा पुग्ने वित्तिकै हिडेका थिए भने वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौला जाँदै गएनन् ।
पौडेलनिकट विद्यार्थी नेताहरु पनि कार्यक्रममा पुगेलगत्तै हिडेका थिए । पौडेल निकट मनोजमणि आचार्यलाई मञ्चमा नबोलाइएको भन्दै उनी समर्थित दीपक भट्टराई, मनहरि श्रेष्ठ, प्रतिमा गौतम, मोती भण्डारीलगायत दर्जनौ विद्यार्थी नेताले कार्यक्रम वहिस्कार गरेर हिडेका थिए ।
संघको काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष मनोज वैद्य पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन्र ।
उता सभापति देउवानिकट विद्यार्थीले प्रज्ञा भवनमा छुट्टै कार्यक्रम आयोजना गरेका थिए । प्राविधिक विद्यार्थी परिषद् (फोर्स) को आयोजनामा भएको सो कार्यक्रममा देउवानिकट पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, निवर्तमान महामन्त्री सरोज थापा, राजीव ढुंगानालगायतका विद्यार्थी नेताको उपस्थिति रहेको थियो । तर पार्टीका नेताहरु सो कार्यक्रममा गएका थिएनन् ।
त्यस्तै पूर्वमहामन्त्री सिटौला पक्षीय विद्यार्थीले चाबहिलको स्मार्ट क्याफेमा छुट्टै कार्यक्रम आयोजना गरेका थिए । संघका पूर्वमहामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा आयोजना भएको सो कार्यक्रममा पूर्वउपाध्यक्ष डिल्ली सुवेदी, रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री बलदेव तिमिल्सिनालगायतका विद्यार्थी नेताहरुको उपस्थिति थियो । सो कार्यक्रममा पनि पार्टीका नेताहरु भने उपस्थित थिएनन् ।
त्यस्तै महामन्त्री कोइरालानिकट संघकी पूर्वउपाध्यक्ष उर्मिला थपलियाको समूहले बिजुली बजारमा अर्को कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रममा महामन्त्री कोइराला पनि सहभागी भएका थिएर ।
उता वरिष्ठ नेता पौडेलनिकट विद्यार्थी नेताले स्थापना दिवसकै अवसरमा वाल्मीकि क्याम्पसमा दीप प्रज्वलन गरेका थिएर । सो कार्यक्रममा केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलगायत सहभागी भएका थिए ।
नेविसंघका नेताहरुले पार्टी नेताहरुको स्वार्थका कारण संघ अस्तव्यस्त भएको र स्थापना दिवसमा गुटैपिच्छेका कार्यक्रम भएको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिका आधा भन्दा बढी नेताहरुका गुट, उपगुट रहेको र उनीहरुले आ–आफ्नो स्वार्थअनुकूल नेतृत्व बनाउने होडवाजी गरेका कारण नेविसंघको नेतृत्व चयन हुन सकेको छैन ।
पार्टी नेतृत्वले आफ्नो अर्कमण्यता ढाकछोप गर्न र नेताहरुले व्यक्तिगत स्वार्थ पूर्तिको माध्यम बनाउँदा एउटा ऊर्जाशील संगठन अन्योल र अस्तव्यस्त भएको भन्दै नेविसंघ सम्वद्ध विद्यार्थीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।