आवास सुविधासहित मुसिकोटमा निःशुल्क ईञ्जिनियरिङ्ग पढाइ

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७, वामीटक्सारमा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयले यसै नयाँ बर्ष देखि आवास सुविधा सहित निशुल्क ईञ्जिनियरिङ्ग विषयको पढाई सञ्चालन गर्ने भएको छ ।
त्यसका लागि बैशाख ९ गते प्रवेश परिक्षा हुने जानकारी दिदै विद्यालयले ईच्छुक विद्यार्थीबाट आवेदन आव्हान गरेको छ । कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक धार पढ्नका लागि भर्ना शुल्क समेत नलाग्ने, खान बस्न सहित सबै निशुल्क गरिने विद्यालयका प्रधानाध्यापक वुद्धिप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार उक्त विषय पढ्नका लागि यस शैक्षिक सत्रमा ४० जनाको कोटा छुट्टाईएको छ । त्यस कोटा भित्र छिर्न प्रवेश परिक्षामा उतिर्ण हुनु पर्ने छ । उक्त विद्यालय सहित त्यहाँका दुइ वटा माध्यमिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि मुसिकोट नगरपालिकाले यसै आर्थिक बर्ष देखि पहल थालेको हो ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले रोजगारमुखी शिक्षाका लागि महेन्द्र आदर्श माध्यमिक विद्यालयमा सिविल ईञ्जिनियरिङ्ग र भुवाचिदीको त्रिभुवन राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युटर ईञ्जिनियरिङ्ग कक्षा यसै आर्थिक बर्ष देखि सञ्चालनमा ल्याउन लागिएको बताए ।
‘त्यसका लागि नगरपालिकाबाट ती दुई विद्यालयमा ५० लाखका दरले रकम छुट्टाईएको र आबश्यक बाँकी रकम जुटाउनका लागि महेन्द्र आदर्शमा केहि महिना अघि मात्र महायज्ञ सम्पन्न गरियो, गत बर्ष त्रिभुवन मावि भुवाचिदीले पनि स्वर्ण महोत्सव सम्पन्न गरेर रकम जुटायो’–सापकोटाले भने –हाम्रो पहल मात्रै हो, यी विषय निशुल्क अध्ययन गराउनमा महायज्ञ र स्वार्णमहोत्सव मार्फत दानविरहरुकै ठुलो हात छ, उहाँहरुलाई हामी धन्यवाद दिन चाहन्छौं ।’
महेन्द्र आदर्श माध्यमिक विद्यालय महायज्ञ मुल समारोह समितिका अध्यक्ष तथा वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्लेका अनुसार महायज्ञबाट ५ करोड ३३ लाख नगद, धान र जमिन दान सहित ६ करोड संकलन भएको थियो ।
खर्च भने ५३ लाख मात्रै भएको थियो । उक्त विषय शिक्षा प्रदान गर्न घर घरमा सुचित गर्दै हिडिएको र महेन्द्र आदर्श माविलाई देशकै नमुना विद्यालय बनाउने गरि आफुहरु लागी परेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुवन केसीले बताए ।